Logo
१३ चैत्र २०८२, शुक्रबार

क्यान्सरलगायत रोगको प्रारम्भिक पहिचान अब नेपालमै, पहिलोपटक वीरमा जडान हुँदै ‘स्पेक्ट–सिटी’ मेसिन

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार १०:०३ मा प्रकाशित

काठमाडाैँ। देशकै पुरानाे सरकारी अस्पताल वीरमा क्यान्सर, मुटु, हड्डी र मिर्गौलासम्बन्धी रोगको अवस्था पत्ता लगाउन सक्ने अत्याधुनिक ‘स्पेक्ट–सिटी’ मेसिन जडान भइरहेको छ।

देशमै पहिलोपटक भित्र्याएर सरकारी अस्पतालमा यस्तो प्रविधि जडान हुनलागेकाे यो पहिलो घटना हो।

अस्पतालका मेडिकल फिजिसिस्ट प्रो.डा. कञ्चनप्रसाद अधिकारीका अनुसार हाल जडानको अन्तिम चरणमा रहेको उक्त मेसिनबाट आगामी एक महिनाभित्र सेवा सुरु गरिनेछ।

‘यस प्रविधिबाट क्यान्सर रोग प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ, जसका कारण उपचारलाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार करिब १५ करोड रुपैयाँ मूल्य बराबरको उक्त उपकरण अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को सहयोगमा प्राप्त भएको हो।

नेपालले आवश्यक कानुनी मापदण्ड पूरा गरेपछि मात्र यस्तो उपकरण भित्र्याउन सम्भव भएको उनले जानकारी दिए।

नयाँ मेसिन सञ्चालनमा आएपछि जटिल रोगको परीक्षणका लागि विदेश जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि वीर अस्पतालमा प्रयोगमा रहेको गामा क्यामेरा मेसिनले करिब १५ वर्ष सेवा दिएपछि बिग्रिएको थियो।

स्वास्थ्य सेवा सुदृढीकरण र आधुनिक प्रविधिको विस्तारमा यो कदमलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

क्यान्सर वीर अस्पताल स्पेक्ट–सिटी