



कोलोराडा। अमेरिकाको कोलोराडाेमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ।
आगामी जेठ महिनाको दोस्रो साता साहित्य सम्मेलन हुन लागेको आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले जनाएको छ।
अनेसासका केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले शनिवार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ (जेठ ८–११) सम्म सञ्चालन हुने जानकारी दिए।
नेपाली भाषा, साहित्यको सम्बर्धन, संरक्षण र विश्वव्यापीकरणमा योगदान पुर्याउँदै आएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा र साहित्यसंग जोड्न विभिन्न गतिविधि र कार्यक्रम गर्दै आएको अनेसास अध्यक्ष वाग्लेले बताए।
उनले भने, ‘त्यस बाहेक अनेसासले सबै उमेर समूहका स्रष्टालाई एउटै थलोमा राखेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि चिन्तन र विमर्श गर्न दुई दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ। यो सम्मेलन त्यसै उद्देश्यको निरन्तरता हो।’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टि (बीओटी)का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि झण्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए।
उनले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिए।

नेपाली र अंग्रेजी साहित्यका लेखकहरुको जमघट रहने सम्मेलनमा दुबै भाषाका स्रष्टाहरुका बीचमा साहित्यका विविध विषयमा छलफल हुने अनेसास बोर्ड अफ ट्रष्टिका सभापति विश्वकर्माले बताए।
बीओटी सभापति विश्वकर्माले सम्मेलनमा नेपालभित्र रहेका विभिन्न भेग र भाषाका स्रष्टाहरुको समेत सहभागिता रहने बताए।
‘नेपाली भाषा र साहित्यसँगै विभिन्न जाति र समुदायको मातृभाषाप्रति हाम्रो उच्च सम्मान छ, तिनको जगेर्ना र विश्वव्यापीकरणमा अनेसासले जोड दिँदै आएको छ,’ उनले भने, ‘भाषिक विविधता र त्यही विविधतामा हुर्किएको हाम्रो नेपाली समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महशुस गर्न पाइनेछ।’
उनले २००९ मा शुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौं श्रृंखला अमेरिकाको कोलोराडोमा आयोजना गर्न लागिएको बताए।
दुई वर्षमा आयोजना गरिने सम्मेलनको आठौं श्रृंखला दुई वर्ष अघि युरोपको पोर्चुगलमा सम्पन्न भएको थियो।
अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढि साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको बताए।
सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरुलाई आमन्त्रण गरिएको जानकारी दिँदै थुप्रै साहित्यकारलाई सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले जानकारी दिए।
सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र चर्चा गरिने छैन्, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा समेत चर्चा गरिनेछ, उनले भने, ‘जसले युवा पुस्तालाई उत्कृष्ट साहित्यिक कृति सृजनाका लागि उत्प्रेरित गर्ने विश्वास छ।’
अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन



