Logo
१३ वैशाख २०८३, आईतबार

ईजीपी ह्याक प्रकरण : कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेसहित थप ३ जना पक्राउ

अक्षरपाटी
२०८३ वैशाख १३ , आईतबार ११:०४ मा प्रकाशित

काठमाडौं। सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ)को विद्धुतीय खरीद प्रणाली (ईजीपी) ह्याक प्रकरणमा तीन जना पक्राउ परेका छन्।

ईजीपीमा अनधिकृत पहुँच पुर्याएर ठेक्कासम्बन्धी विवरण आफूअनुकूल हेरफेर गरेको अभियोगमा ९ जना पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा लगायत रहेका छन्।

यसअघि ईजीपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा ६ जना पक्राउ परिसकेका छन्। उनीहरूलाई काठमाडौंसहित विभिन्न जिल्लाबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

अनुसन्धानका क्रममा ह्याकरहरूले बोलपत्रको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरी ठेक्का प्रभावित पार्ने कार्य गरेको पाइएको छ। घटनामा विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ।

सरकारले सार्वजनिक खरीद प्रक्रिया पारदर्शी बनाउन ईजीपी प्रणाली लागू गरेको भए पनि पछिल्लो घटनाले यसको सुरक्षामाथि नै गम्भीर प्रश्न उठाएको छ।

ईजीपी ह्याक प्रकरण

ट्रेन्डिङ ( साप्ताहिक )