


काठमाडौं । राहदानी विभाग अगाडि बिहीबार आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रबार सडकदेखि संघीय संसद्सम्म विरोधको स्वर तर्को भएको छ।
घटनालाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै विपक्षी दलका सांसदहरूले संसद्मा आवाज उठाएका छन् भने वीर अस्पताल परिसरमा मृतकका आफन्त, स्थानीयवासी तथा सर्वसाधारणले प्रदर्शन गरेका छन्।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर–३ अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले उनको उद्धार गरी वीर अस्पताल पुर्याएका थिए। त्यस्तो अत्यासलाग्दो घटनामा उनलाई साधन प्रयोग नगरी अपराधिलाई जस्तो समातेर अस्पताल लगिएको विषय पनि आलोचित भइरहेको छ।
शरीरको अधिकांश भाग जलेका कारण उनलाई वीर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। तर उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको अस्पतालले घोषणा गर्यो।
उनको मृत्युको खबर सार्वजनिक भएसँगै वीर अस्पताल परिसरमा तनावको अवस्था सिर्जना भयो। आफन्त तथा आम नागरिकले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै नाराबाजी गरेका थिए।
केही समय अस्पताल परिसरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
यता, संघीय संसद्को बैठकमा पनि यो घटनाले प्रवेश पायो। विपक्षी दलका सांसदहरूले घटनाको गम्भीर छानबिन गर्नुपर्ने, नागरिकलाई यस्तो चरम दुखद कदम चाल्न बाध्य बनाउने अवस्थाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै बैठकमा चर्को सुनिए।
सांसदहरूले नागरिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, प्रशासनिक बेथिति र सरकारी निकायको गैरजिम्मेवारीका कारण नागरिक निराश बनेको आरोप लगाए।
सांसदहरूले मृतक गणेश नेपालीले आत्मदाहको प्रयास गर्नुको वास्तविक कारण सार्वजनिक गर्न, छानबिन गर्न तथा सम्बन्धित कर्मचारी र निकायको भूमिकामाथि अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।
वीर अस्पताल बाहिर प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको नैतिक जिम्मेवारी रहेको बताएका थिए। कतिपय प्रदर्शनकारीले प्रधानमन्त्री बालेन शाहको राजीनामासमेत माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले नागरिकले सरकारी कार्यालय अगाडि आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था आउनु राज्यको गम्भीर असफलता भएको टिप्पणी गरे।
गृहमन्त्रीले भने घुटन भइसक्यो
यसैबीच, सदनमै उभिएर गृहमन्त्री सुधन गुरुङले सरकारको आलोचनप्रति आक्रोसित भएर जवाफ दिए। उनले आफूले गणेश नेपालीलाई बचाउन सबै सुरक्षा निकाय, देशका विज्ञ चिकित्कस र आफू रातभर नसुतेको विषय ‘स्टन्ड’ नभएको स्पस्ट पारे।
उनले चिकित्सकले नै गणेशको स्वास्थ्य अवस्था स्थिर नभएको, ब्लड प्रेसर निकै कम भइसकेकाले दिल्ली लग्न गरिएको सम्पूर्ण तयारी काम नलागेको स्पस्ट पारे। उनले कुनै भिभीआईपीलाई भन्दा पनि एक नागरिकलाई बचाउन वर्तमान सरकारले पहिलोपटक प्रयास गरेको सदनलाई स्पस्ट पारे।
अनुसन्धान हुँदै
गृहमन्त्रीले नै घटनाको छानविनका लागि नगरप्रहीसहित तीन जनालाई पक्राउ गरेर छानविन भइरहेको जानकारी सदनलाई दिए। प्रहरीले पनि घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा गणेश नेपालीले किन यस्तो कदम चाले भन्ने विषयमा विभिन्न पक्षबाट जानकारी संकलन भइरहेको प्रहरीको भनाइ छ।
घटनास्थलका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा मृतकसँग सम्बन्धित अन्य प्रमाणहरूको अध्ययन भइरहेको प्रहरीको भनाइ छ।
मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले पनि घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन्। उनीहरूले नागरिकलाई सार्वजनिक सेवा, भोग्नुपरेका समस्या, मानसिक तनाव तथा सरकारी निकायको व्यवहारबारे गम्भीर समीक्षा गर्न सरकारलाई आग्रह गरेका छन्।
गणेश नेपालीको मृत्युले सरकारी सेवा प्रणाली, सार्वजनिक निकायको जवाफदेहिता र नागरिकको मनोवैज्ञानिक अवस्थाबारे राष्ट्रिय बहससमेत सुरु भएको छ।
घटनाको वास्तविक कारण सार्वजनिक गर्न, दोषीमाथि कारबाही गर्न तथा भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन प्रभावकारी सुधारका कदम चाल्न सरकारमाथि दबाब बढ्दै गएको छ।
एउटा मृत्युले दिएको ठूलो सन्देश
गणेश नेपाली अब यस हामीमाझ छैनन्। तर उनको मृत्युले धेरै प्रश्न जीवित बनाएर गएको छ। के कुनै नागरिक राज्यका कुनै निकायका कारण यति धेरै निराश हुन सक्छ कि जसका कारण उसले आफ्नै जीवन समाप्त गर्ने निर्णय गरोस ?
के राज्यका प्रणालीले नागरिकको पीडा सुन्न सकेको छ? सरकारी कर्मचारी, नियामक निकाय, व्यक्ति र कार्यालयहरू सेवामुखी छन् कि प्रक्रियामुखी छन्? मानसिक तनावमा परेका नागरिकलाई राज्यले सहयोग गर्ने प्रभावकारी संयन्त्र के हो ?
यी प्रश्नहरूको समाधान केवल एउटा अनुसन्धान प्रतिवेदनले मात्र गर्ने छैन। यसको उत्तर राज्यको व्यवहार, सार्वजनिक सेवा सुधार र प्रशासनिक उत्तरदायित्वमा देखिने परिवर्तनले हुनेछ।
गणेश नेपालीको मृत्यु एउटा परिवारका लागि अपूरणीय क्षति हो। तर यदि यस घटनाबाट राज्यले सेवा प्रणाली सुधार्ने, राष्ट्र सेवकहरुको व्यवहार परिवर्त गर्ने, नागरिकको गुनासो सुन्ने र सरकारी संयन्त्रलाई थप उत्तरदायी बनाउने पाठ सिक्न सक्यो भने भविष्यमा यस्ता दुःखद घटना दोहोरिन कम हुनेछ।
आत्मदाह गणेश नेपाली

