



धनगढी । धनगढीमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न भएको छ।
प्रदेश भरिबाट सहभागी भएका कवि कवयित्रीको सहभागितामा कविता महोत्सव सम्पन्न गरिएको प्राज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि एन जोशीले बताए।
कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र रावलले कविताले इतिहास, भाषा र संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले आधुनिकताको नाममा यसको मौलिकता मेटिन नहुने बताए।
उनले देशकै पहिलो कवि मानिने डोटीका गुणाकर जोशीको शालिक निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे। “साहित्यले इतिहास बोकेको हुनुपर्छ र कला-संस्कृतिको संरक्षण गर्ने माध्यम बन्नुपर्छ,” उनले भने, ६ वर्षदेखि ८८ वर्षसम्मका सहभागीहरूको कविता सुन्न पाउँदा सुदूरपश्चिमको साहित्यिक उचाइ बढिरहेको अनुभूति भएको उनले व्यक्त गरे।
१०० भन्दा बढी कविताबाट छनौट भएका ३५ जना प्रतियोगीले कविता वाचन गरेका थिए। प्रतिस्पर्धामा प्रथम स्थान निकिता अवस्थीले हासिल गर्दै नगद रु २५ हजार र प्रमाणपत्र प्राप्त गरिन्। द्वितीय स्थान दिलबहादुर महराले नगद रु २० हजार र तृतीय स्थान हिरादत्त भट्टले नगद रु १५ हजारसहित प्रमाणपत्र हात पारे। सान्त्वना हुँदै लबदेव धामी, हरिप्रिया जोशी, बिमला कठायत र खिमानन्द बडुले जनही रु ५ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीको अध्यक्षता तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलको प्रमुख आतिथ्यता रहेको थियो। साथै कैलाली जन पुस्तकालयका अध्यक्ष शिवराज ओझालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।




