



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ।
शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकले परीक्षाफल सार्वजनिक गरेको हो।
बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ३२ हजार २४१ जना नियमित र ८५ हजार ९२९ जना आंशिकतर्फका परीक्षार्थी रहेका थिए।
सरकारले परीक्षाफल ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको भए पनि बोर्डले तोकिएको समयभन्दा अगावै नतिजा सार्वजनिक गरेको हो।
यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो। सरकारले एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो।
यसरी हेर्न सकिन्छ नतिजा
परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :
Website:
१. राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np
२. नेपाल टेलिकमको website: https://neb.ntc.net.np
SMS सेवा :
१. NEB <space> Symbol No. टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गर्ने ।
IVR सेवा :
१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।
USSD सेवा :
१. * १६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।
राष्ट्रिय परीक्षा बोर्ड


