



धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।
प्रहरीका अनुसार सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए। विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो।
गम्भीर घाइते भएका विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो करिब १२ बजे मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उक्त घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थप उपचारका लागि जोशीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
घटना बिहीबार बिहान ९:१७ बजे फायरिङ अभ्यासका क्रममा भएको प्रहरीले जनाएको छ। सेनाले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
ग्रिनेड विस्फोट नेपाली सेना


