


धनगढी । कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका दुई सैनिक घाइते भएका छन्।
घटना गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा बिहीबार भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको नियमित सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका हुन्।
घाइते हुनेमा सहायक सेनानी विक्रम कार्की र सैनिक रञ्जित थारु रहेका छन्। दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो। त्यसपछि थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
ग्रिनेड विस्फोट सैनिक घाइते

