


काठमाडौं । बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन कृषि, वन तथा वातावरण मन्त्रालयले ५० करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले रकमान्तरमार्फत उक्त रकम पशु सेवा विभागलाई उपलब्ध गराएको हो।
यो रकम बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि छुट्याइएको हो। बर्डफ्लुका कारण आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन विभागले मन्त्रालयसँग बजेट माग गरेको थियो।
पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार प्रभावित किसानलाई प्रमाणित क्षतिको आधारमा अधिकतम ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।
विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) निर्देशिका, २०७४ अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरी नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको मूल्यको ७५ प्रतिशतसम्म सम्बन्धित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ।
गत चैतदेखि पूर्वी नेपालबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा फैलिसकेको छ। भाइरसको स्वरूप परिवर्तन हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पन्छी, अण्डा तथा दाना नष्ट गर्ने कार्य गरिएको विभागले जनाएको छ।
रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। सङ्घ, प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा रोग नियन्त्रण तथा रोकथामका प्रयास निरन्तर जारी रहेको विभागको भनाइ छ।
बर्डफ्लु

