


काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षा मन्त्रालयले मन्त्री सिता बादीले १०० दिनमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्।
मन्त्रालयका अनुसार १०० दिनको अवधिमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संरक्षण, उद्धार, कानुनी सुधार, सेवा प्रवाहको डिजिटल रूपान्तरण र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय काम सम्पन्न भएकाे जनाइएको छ।
मन्त्रालयले सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये दुर्गम क्षेत्रमा ज्यान जोखिममा रहेका ३० जना गर्भवती, सुत्केरी तथा नवजात शिशुको निःशुल्क हवाई उद्धारलाई प्रस्तुत गरिएको छ। यससँगै हालसम्म यस्तो सेवा प्राप्त गर्नेको संख्या ९३९ पुगेको मन्त्रालयले जनाएको छ।
सडक बालबालिकाको उद्धार तथा पुनर्स्थापनालाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ। पछिल्लो १०० दिनमा ९९ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा पुनर्स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै हालसम्म उद्धार तथा व्यवस्थापन गरिएका सडक बालबालिकाको संख्या २ हजार ६९६ पुगेको छ।
हराएका बालबालिकाको खोजी अभियानअन्तर्गत पछिल्लो अवधिमा २ हजार ४४० बालबालिकामध्ये २ हजार ४६ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ।
हालसम्म ५५ हजार ८४७ हराएका बालबालिकाको खोजी तथा व्यवस्थापन सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
कानुनी तथा नीतिगत सुधारतर्फ लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत कानून र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन प्रक्रिया अघि बढाइएको छ।
बालबालिका सम्बन्धी नियमावली, २०७८ संशोधन गरी राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि, २०८२ स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको छ।
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने क्रममा मन्त्रालयका सम्पूर्ण प्रशासनिक काम जिआईओएमएस प्रणालीमार्फत डिजिटल बनाइएको छ। मन्त्रीसमक्ष नागरिकले क्यूआर प्रणालीमार्फत सिधै गुनासो दर्ता गर्न सक्ने र त्यसको तत्काल सम्बोधन गर्ने व्यवस्था पनि लागू गरिएको छ।
महिला हिंसा सम्बन्धी हेल्पलाइन ११४५, हराएका बालबालिकाका लागि १०४ तथा बाल हेल्पलाइन १०९८ लाई २४सै घण्टा सञ्चालनमा राखिएको मन्त्रालयले जनाएको छ।
सामाजिक संस्थागत सुधारअन्तर्गत नेपाल रेडक्रस सोसाइटीमा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका चार वटा साधारण सम्झौता र २४ वटा परियोजना सम्झौताका लागि सहमति प्रदान गरिएको छ।
मानव बेचबिखन तथा उद्धार अभियानमा भारतको कोलकातास्थित सोनागाछीबाट नुवाकोटका दुई बालिकाको उद्धार गरिएको छ भने भारतको कुशीनगरबाट ४५३ नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धिका लागि २२ वटा सङ्घीय मन्त्रालयको पहुँचयुक्तता सम्पन्न गरिएको मन्त्रालयले उल्लेख गरेको छ। साथै प्रतिनिधिसभा र राष्ट्रिय सभामा साङ्केतिक भाषा दोभाषे तथा क्याप्सनिङ सेवा कार्यान्वयनमा ल्याइएको छ।
अनुगमनमार्फत सेवा सुधारमा जोड
मन्त्री सिता बादीले १०० दिनको अवधिमा विभिन्न सरकारी तथा सामाजिक संस्थाहरूमा आकस्मिक अनुगमन गर्दै सेवा सुधारका लागि आवश्यक निर्देशन दिएकी छन्।
उनले समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, पशुपति वृद्धाश्रम, दीर्घकालीन पुनर्स्थापना केन्द्र, सिंहदरबार दिवा शिशुस्याहार केन्द्र, बालसुधार गृह, एसओएस बालग्राम, अटिजम विद्यालय लगायतका संस्थाको स्थलगत अनुगमन गरेकी थिइन्।
त्यसैगरी मुस्कान सेवा बालगृहबाट आठ जना बालबालिकाको सुरक्षित स्थानान्तरण गरिएको तथा बुढानिलकण्ठस्थित इस्कनमा भएको बाल दुर्व्यवहार घटनापछि आकस्मिक अनुगमन गरी आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षण, सामाजिक सुरक्षा तथा प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता गरिएको छ।
मन्त्री सिता बादी सरकारका १०० दिन

