


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको व्यापक पुनर्संरचना नगरी सुशासन स्थापना सम्भव नहुने धारणा सार्वजनिक गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्नै भ्रष्टाचार नियन्त्रण तथा नागरिकलाई प्रभावकारी न्यायको प्रत्याभूति दिलाउन न्यायालयकाे पुनर्संरचना आवश्यक भएकाे धारणा सार्वजनिक गरेका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि सांसद न्याैपानेले पछिल्ला केही श्रृङ्खलाबद्ध घटनाक्रमहरूले न्यायालयको वर्तमान अवस्थामाथि गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता स्पष्ट पारेको उल्लेख गरेका छन्।
उनले न्यायालयको सन्दर्भमा अब निर्ममतापूर्वक समीक्षा गर्ने समय आइसकेको भन्दै ‘सुधारको प्रक्रिया जति ढिला गरिन्छ, त्यसको परिणाम त्यति नै गम्भीर र अकल्पनीय हुन सक्ने’ चेतावनी दिएका छन्।

सांसद न्यौपानेका अनुसार न्यायालयको पुनर्संरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन। आम नागरिकले निष्पक्ष र प्रभावकारी न्याय प्राप्त गर्ने वातावरण पनि सुनिश्चित हुन नसक्ने उनको भनाइ छ।
उनले राज्यका सबै निकायले समयअनुकूल परिवर्तनलाई आत्मसात गर्नुपर्ने भन्दै त्यसबाट मात्रै देशलाई सही दिशामा परिवर्तन गर्न सकिने बताएका छन्।
‘यो मेरो आवेगमा आएर बनेको धारणा होइन, गम्भीर समीक्षा र विश्लेषणबाट निस्किएको निष्कर्ष हो,’ भन्दै सांसद न्यौपानेले न्याय प्रणाली सुधारलाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
सांसद यज्ञमणि न्यौपाने

