Logo
६ साउन २०८३, बुधबार

बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

अक्षरपाटी
२०८३ साउन ६ , बुधबार ११:०७ मा प्रकाशित

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। यससँगै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत संविधानको धारा १६८ बमोजिम पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा रहेका सबै मन्त्रीले तत्काल लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरेका छन्। साथै राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

थपलियाले सरकारलाई दिइएको समर्थन पनि फिर्ता लिइएको पुष्टि गरेका छन्।

राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

मन्त्रीहरू मन्त्रिपरिषद् बैठकपछि काठमाडौं गएका थिए भने पार्टी नेतृत्वको निर्देशनअनुसार मंगलबार हेटौंडा पुगेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यका विषयमा भएको छलफलपछि पार्टी नेतृत्वले सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार मन्त्रीहरूले राजीनामा बुझाएका हुन्।

बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालनमा थियो। करिब दुई वर्षपछि एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।

संविधानअनुसार अब मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ।

बागमती प्रदेश हेटौंडा

ट्रेन्डिङ ( साप्ताहिक )