Logo
१९ साउन २०८३, मंगलबार

राजीनामाको दबाबबीच ओली निवासमै ढले जगन्नाथ थपलिया

अक्षरपाटी
२०८३ साउन १९ , मंगलबार ०२:०८ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका क्रममा बोल्दाबोल्दै अचेत भएका छन्।

स्रोतका अनुसार सोमबार साँझ भक्तपुरको गुन्डुस्थित अध्यक्ष ओलीको निवासमा बोलाइएको छलफलमा थपलियामाथि संसदीय दलको नेताबाट राजीनामा दिन दबाब परेको थियो। छलफल राति अबेरसम्म चलेको बताइएको छ।

छलफलमा अध्यक्ष ओली, बागमती प्रदेश इन्चार्ज महेश बस्नेत तथा प्रदेशका सांसदहरू सहभागी थिए। सहभागी अधिकांश सांसदहरूले थपलियाले बागमती प्रदेशको नेतृत्व प्रभावकारी रूपमा गर्न नसक्ने र सरकार गठनका लागि आवश्यक राजनीतिक समर्थन जुटाउन असफल भएको भन्दै नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेका थिए। स्रोतका अनुसार उपस्थित १७ सांसदमध्ये १४ जनाले यसअघि नै किरण थापामगरलाई मुख्यमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरिसकेका थिए।

लगातार आफ्नै नेतृत्वमाथि प्रश्न उठेपछि थपलियाले पार्टीमा पाँच दशकभन्दा बढी योगदान दिएको उल्लेख गर्दै आफूलाई अयोग्य ठहर गरिनुको कारणबारे धारणा राखेका थिए। स्रोतका अनुसार सोही क्रममा उनी भावुक बनेर बोल्दाबोल्दै अचेत भएका थिए।

अचेत भएपछि सांसदहरू केशव पोखरेल, दावा दोर्जे लामा लगायतले उनलाई तत्काल मध्यपुर ठिमी अस्पताल पुर्‍याएका थिए। उनी अस्पताल लगिएपछि पनि गुन्डुस्थित निवासमा राजनीतिक छलफल भने केहीबेर जारी रहेको स्रोतले जनाएको छ।

छलफलका क्रममा अध्यक्ष ओलीले थपलियाले नेतृत्व गर्न नसक्ने अवस्था स्पष्ट भएको उल्लेख गर्दै राप्रपाको समर्थन जुटाउन सक्ने नेताले नै सरकारको नेतृत्व गर्ने धारणा राखेको स्रोतको दाबी छ।

यसअघि गत शुक्रबार अध्यक्ष ओलीले थपलियालाई मुख्यमन्त्री बनाउने संकेत दिएका थिए। त्यसपछि आफू नेतृत्वमा पुग्ने विश्वासमा रहेका थपलियालाई सोमबार अचानक गुन्डुस्थित निवासमा बोलाइएको र त्यहाँ सरकार गठन तथा नेतृत्व परिवर्तनबारे केन्द्रित छलफल भएको स्रोतले जनाएको छ।

छलफलको अन्त्यतिर प्रदेश इन्चार्ज महेश बस्नेतले अध्यक्षको निर्णय कार्यान्वयन हुने बताएका थिए। त्यसक्रममा थपलियाले आफू पनि पार्टीको निर्णय मान्ने व्यक्ति भएको बताएका थिए। त्यसपछि सांसदहरूको हस्ताक्षरबारे समेत छलफल भएको र लगातारको दबाबका बीच थपलिया अचेत भएको स्रोतको भनाइ छ।

केपी शर्मा ओली जगन्नाथ थपलिया बागमती प्रदेश