


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट शक्तिहरू सत्ता र सरकारको राजनीतिमै केन्द्रित हुँदा विरोधी शक्तिहरूले दीर्घकालीन रणनीति तयार गरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनले वैचारिक प्रशिक्षण (स्कुलिङ) र रणनीतिक सोचलाई कमजोर बनाउँदा अहिलेको अवस्था सिर्जना भएको टिप्पणी गरे।
उनका अनुसार कम्युनिस्टहरू सरकार गठन, मन्त्री बनाउने, प्रदेश तथा स्थानीय तहमा निर्वाचित हुने जस्ता कार्यमै बढी केन्द्रित भए भने विरोधी शक्तिहरूले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यसहित २० वर्षे रणनीति तयार गरेका रहेछन्।
‘हामी सत्ता र सरकारमै अल्झियौं, तर हाम्रो वैरी रणनीति बनाउन व्यस्त रहेछ,’प्रचण्डले भने।
प्रचण्डले नेपाल र नेपाली जनताका विरोधी शक्तिहरूले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने योजनामा लामो समयदेखि काम गरिरहेको आफूहरूले पर्याप्त रूपमा आकलन गर्न नसकेको स्वीकार गरे।
उनले शान्ति सम्झौतापछि कम्युनिस्ट शक्तिहरू रणनीतिक राजनीतिक दृष्टिकोणभन्दा पनि सरकार सञ्चालन र सत्ताको कार्यगत राजनीतिमा बढी व्यस्त भएको बताए। यही कारण कम्युनिस्ट विरोधी शक्तिहरूले खेल्ने अवसर पाएको उनको भनाइ थियो।
प्रचण्डले कम्युनिस्ट आन्दोलनको मुख्य कमजोरी रणनीतिक सोच, वैचारिक विकास र निरन्तर राजनीतिक स्कुलिङलाई बेवास्ता गर्नु रहेको उल्लेख गर्दै अब त्यसबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’

