


काठमाडौँ । सुनसरीको देवानगन्ज, सिरहालगायत क्षेत्रमा केही दिनअघि भएका दुःखद घटना र त्यसपछि विकसित घटनक्रमलाई लिएर प्रधानमन्त्री बालेन शाहले आज देशबासीका नाममा सम्वोधन गरेका छन्।
सुनसरी घटनापछिको तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर, संवेदनशील र जिम्मेवार रहेको उनले बताएका छन्। देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्रीले घटनामा मृत्यु भएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गरे। साथै, घाइते सबै नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए।
सम्बोधनमा प्रधानमन्त्रीले घटना भएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय तत्काल परिचालन भएर अवस्था नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न निरन्तर खटिएको बताए। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै उनले अनुसन्धान पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाए।
‘घटनामा संलग्न दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइनेछ’, प्रधानमन्त्री शाहले भने,’कानुनभन्दा माथि कोही पनि छैन।’
प्रधानमन्त्रीका अनुसार अवस्था थप बिग्रिन नदिन, जनधनको क्षति रोक्न तथा स्थानीय स्तरमा विश्वासको वातावरण निर्माण गर्न सरकारले केन्द्रदेखि स्थानीय तहसम्म व्यापक पहल गरिरहेको छ। यसका लागि केन्द्रमा सर्वदलीय बैठक बोलाएर छलफल गरिएको तथा स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा र सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको उनले बताए।
घटनास्थलको प्रत्यक्ष अनुगमन, पीडित परिवारसँग भेटघाट र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन गृहमन्त्री, सुरक्षा निकायका उच्च अधिकारीसहित प्रभावित क्षेत्रमा पुगिसकेको प्रधानमन्त्रीले जानकारी दिए। उनले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर समग्र शान्ति–सुरक्षाको अवस्थाको समीक्षा गरी आवश्यक निर्णयसमेत गरिसकिएको बताए।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यममार्फत असत्य, अपुष्ट र भ्रामक सूचना फैलाउने, समुदायबीच घृणा र वैमनस्य बढाउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यस्ता कार्य नगर्न सम्पूर्ण नागरिकलाई आग्रह गरे। सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामा मात्र विश्वास गर्न उनले विशेष अनुरोध गरे।
उनले प्रत्येक नागरिकको जीवन, सम्पत्ति र सुरक्षाको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा नेपालको सामाजिक सद्भाव, सहिष्णुता र भाइचारामा खलल पुर्याउने कुनै पनि गतिविधिप्रति सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए।
प्रधानमन्त्रीले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै उक्त संवैधानिक अधिकारको रक्षा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
धर्मले समाजलाई जोड्ने, प्रेम र सहअस्तित्वको भावना विस्तार गर्ने उल्लेख गर्दै उनले संसारको कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने बताए। ‘सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो,’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको दुःखद घटनाको आधारमा सम्पूर्ण समुदायलाई दोषारोपण गर्नु वा त्यसको प्रतिशोधका रूपमा अन्य क्षेत्रमा हिंसा फैलाउनु कुनै पनि दृष्टिले न्यायोचित हुन नसक्ने स्पष्ट पारे।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले नेपालको इतिहासले कठिन परिस्थितिमा पनि एकता, सहिष्णुता र विवेकका आधारमा चुनौती सामना गरेको स्मरण गराउँदै सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरे। उनले नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल, सामाजिक अगुवा तथा सञ्चारमाध्यमलाई संयम, धैर्यता र जिम्मेवारीका साथ राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सरकारसँग सहकार्य गर्न अपिल गरे।
सम्बोधनको अन्तिममा प्रधानमन्त्रीले मैथिली भाषामार्फत पनि मधेशका नागरिकलाई विशेष सन्देश दिँदै सबै पक्षलाई धैर्यता, संयमता र आपसी सद्भाव कायम राख्न आग्रह गरे।


