Logo
२० साउन २०८३, बुधबार

३ करोड बक्यौता हुँदाहुँदै खुल्यो भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय

अक्षरपाटी
२०८३ साउन २० , बुधबार ०५:०८ मा प्रकाशित

काठमाडौं । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय १ सय १५ दिनपछि पुनः सञ्चालनमा आएको छ। समाज कल्याण परिषद्ले मंगलबार पुस्तकालयमा लगाएको ताला खोलेसँगै सञ्चालनको बाटो खुलेको हो।

पुस्तकालयको करिब ३ करोड रुपैयाँ भाडा बक्यौता रहेको भन्दै परिषद्ले यसअघि तालाबन्दी गरेको थियो। तर, पुस्तकालयको शैक्षिक तथा सामाजिक महत्वलाई मध्यनजर गर्दै बक्यौता बाँकी रहेकै अवस्थामा ताला खोल्ने निर्णय गरिएको परिषद्ले जनाएको छ।

पुस्तकालय प्रशासनका अनुसार हाल पुस्तकालयभित्र सरसफाइ, पुस्तक व्यवस्थापन तथा अन्य आन्तरिक तयारीको काम भइरहेको छ। लामो समय बन्द रहेकाले सेवा नियमित गर्न केही दिन लाग्ने भएकाले तत्काल पाठकका लागि खुला नगरिने भएको हो।

आन्तरिक तयारी पूरा भएपछि आगामी २५ साउनदेखि पुस्तकालय सर्वसाधारण पाठकका लागि नियमित रूपमा खुला गरिने प्रशासनले जनाएको छ। त्यसपछि पाठकहरूले पुस्तकालयका सेवा पूर्ववत् रूपमा लिन सक्नेछन्।

पुस्तकालय भृकुटीमण्डप

ट्रेन्डिङ ( साप्ताहिक )