


काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ। अटो शोको उद्घाटन मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका छन्।
अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका विभिन्न मोडलका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। प्यासेन्जर गाडीका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला व्यावसायिक सवारीसाधनसमेत प्रदर्शनीमा छन्।
शोमा हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेल लगायतका ब्रान्डका सवारीसाधन राखिएका छन्। यस्तै, दुईपांग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यामाहा र होन्डा लगायतका ब्रान्ड सहभागी छन्।
यसपटकको अटो शोको आकर्षणका रूपमा नेपालमै बनेको सिप्रदी–यात्री नेपालको उत्पादन ‘यात्री पी–२’ समेत प्रदर्शनीमा राखिएको छ।
अटोमोबाइलसँग सम्बन्धित अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत उल्लेख्य सहभागिता रहेको छ।
नाडाका अनुसार प्रदर्शनीमा २०० भन्दा बढी स्टल राखिएका छन्। बैंक तथा वित्तीय संस्थाका १० भन्दा बढी स्टलसमेत प्रदर्शनीमा छन्।
मंगलबारदेखि सुरु भएको नाडा अटो शो १४ भदौसम्म सञ्चालन हुनेछ। अटो शो अवधिमा अटोमोबाइल क्षेत्रका नीति, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन तथा रोजगारीलगायत विषयमा छलफलसमेत हुने आयोजकले जनाएको छ।
नाडा अटो शो भृकुटीमण्डप

