


काठमाडौं । नेपालमा कुनै समय ६०–७० वर्षको उमेरपछि बढीजसो देखिने नाक, कान तथा घाँटीको क्यान्सर पछिल्लो समय २२–२५ वर्ष उमेरका युवामा देखिन थालेको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूले यसको प्रमुख कारणमध्ये सुर्तीजन्य पदार्थको बढ्दो तथा खुला सेवनलाई औंल्याउँएका छन्। चिकित्सकहरुले राज्यले यसको बिक्री–वितरणमा कडाइ गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र (NCHRC) ले नाक, कान तथा घाँटीको क्यान्सर उपचारमा आफ्नो १० वर्षे यात्राका उपलब्धि सार्वजनिक गर्न शनिबार आयोजना गरेको प्रेस मिटमा चिकित्सकहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठ, मेडिकल डाइरेक्टर डा. बिजेशराज घिमिरे, सर्जिकल अन्कोलोजी विभाग प्रमुख डा. गुसुपनिख प्रसिको, सर्जिकल अन्कोलोजी विभागका एचओडी डा. कपेन्द्र शेखर अमात्य, हेड एन्ड नेक सर्जरी युनिट प्रमुख डा. प्रभात ठाकुर तथा प्रमुख कार्यकारी अधिकृत कपिल गौतम सहभागी थिए।
युवामा क्यान्सर, मुख्य कारण सुर्तीजन्य पदार्थ
नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजी विभाग प्रमुख डा. गुसुपनिख प्रसिकोले विगतमा ६०–७० वर्षको उमेरमा बढी देखिने फोक्सो तथा नाक, कान, घाँटी र मुखको क्यान्सर अहिले २२–२५ वर्षकै युवामा देखिन थालेको बताए। उनका अनुसार यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सहज र खुला पहुँच हो।
‘गौशाला चोकमा हेर्नुस्, सातदोबाटो चोकमा हेर्नुस् वा कुनै सार्वजनिक चोकमा हेर्नुस्, खुलेआम गुट्खा, चुरोट र सुर्ती बिक्री भइरहेको देखिन्छ,’ उनले भने, ‘यसलाई राज्यको तहबाटै कडाइका साथ नियन्त्रण र प्रतिबन्ध गर्नुपर्छ।’
चिकित्सक प्रसिकोका अनुसार क्यान्सर सुरुवाती चरणमै पहिचान भएर उचित उपचार गर्न सकिएमा बिरामी पुनः सामान्य जीवनमा फर्किन सक्ने सम्भावना उच्च हुन्छ। शल्यक्रिया, रेडियोथेरापी र केमोथेरापीलाई बिरामीको अवस्थाअनुसार उचित रूपमा प्रयोग गर्न सके उपचार प्रभावकारी हुने उनको भनाइ छ। जुन उपलब्धता नेपाल क्यान्सर अस्पतालमा छ।
दुई–तीन हप्ता घाउ निको नभए जाँच गर्न आग्रह
हेड एन्ड नेक सर्जरी युनिट प्रमुख डा. प्रभात ठाकुरले टाउको तथा घाँटीको क्यान्सर उपचारमा सबैभन्दा ठूलो चुनौती बिरामी सुरुवाती चरणमै चिकित्सकको सम्पर्कमा नआउनु रहेको बताए।उनका अनुसार बिरामीहरू क्यान्सर जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने प्रवृत्तिले उपचार जटिल बन्ने गरेको छ।
‘देशभरका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मीलाई सामान्य प्रशिक्षण दिएर प्रारम्भिक जाँच गर्न सकिन्छ,’ उनले भने, ‘समयमै शंका गर्न सकियो र आवश्यक परे विशेषज्ञकहाँ रेफर गर्न सकियो भने धेरै बिरामीलाई सुरुवाती चरणमै उपचारको दायरामा ल्याउन सकिन्छ।’
डा. ठाकुरले पाठेघरको मुखको क्यान्सर वा स्तन क्यान्सरजस्तो नाक,कान तथा घाँटीको क्यान्सरको सहज र नियमित स्क्रिनिङ प्रणाली नभए पनि यसको प्रारम्भिक संकेतलाई व्यक्ति आफैंले पहिचान गर्न सक्ने बताए।
उनका अनुसार मुखमा भएको घाउ दुई–तीन हप्तासम्म निको नभए, घाउ बढ्दै गए, मुख खोल्न कठिन भए वा मुखभित्र सेतो दाग देखिए तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्छ।
‘गुट्खा खाएर मुख नै खुल्न नसक्ने अवस्था पनि प्रि–क्यान्सरको संकेत हुन सक्छ। यसलाई भोलिको जोखिमका रूपमा बुझ्नुपर्छ,’ उनले भने।
डा. ठाकुरले पछिल्लो १० वर्षमा आफूले करिब पाँच हजार बिरामीको शल्यक्रिया गरेको जानकारीसमेत दिए। उनले जनचेतनाको अभावको उदाहरण दिँदै भने, ‘मेरै बिरामीका कतिपय कुरुवा मुखमा गुट्खा राखेर हामीसँग कुरा गरिरहेका हुन्छन्। बाहिर निस्किँदा चिया र चुरोट खाइरहेको देखिन्छ। यो जनचेतनाको कमी हो। यसमा जागरण राज्यस्तरबाटै जरुरी छ।’
‘भेप’मार्फत सुर्तीको लतमा पार्ने प्रयास
अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले सुर्ती उद्योगहरुले नयाँ पुस्तालाई लक्षित गर्दै इलेक्ट्रोनिक चुरोट अर्थात् ‘भेप’लाई नयाँ माध्यमका रूपमा प्रयोग गरिरहेको बताए। उनका अनुसार भेपले युवालाई सुर्तीजन्य पदार्थको प्रयोगतर्फ आकर्षित गर्ने र पछि परम्परागत धुम्रपानतर्फ लैजाने जोखिम रहेको छ।
‘नयाँ जेनेरेसनलाई भेपमा फसाएर टोब्याकोको बानी बसाल्ने तरिका हो। यसले सिधै क्यान्सर नदेखाए पनि मुटु र मस्तिष्कमा समस्या निम्त्याउन सक्छ। पछि धुम्रपानमा गइसकेपछि क्यान्सरको जोखिम त हुन्छ नै,’ डा. श्रेष्ठले भने।
उनले भेप तथा अन्य सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताए। ‘जबसम्म राज्य नै संवेदनशील भएर सक्रिय हुँदैन, तबसम्म निजी प्रयासबाट मात्रै यो नियन्त्रण गर्न सम्भव छैन’, उनले भने।
नेपालमै अन्तर्राष्ट्रियस्तरको उपचार
एनसीएचआरसीका मेडिकल डाइरेक्टर डा. बिजेशराज घिमिरेले नेपालमा गुट्खा, पानपराग, सुर्ती र चुरोटको प्रयोग खुला भएकै कारण कम उमेरमै नाक, कान, घाँटी तथा मुखको क्यान्सर देखिने गरेको बताए।
यद्यपि पछिल्लो दशकमा नेपालमै हेड एन्ड नेक क्यान्सरको उपचारमा उल्लेखनीय प्रगति भएको उनको भनाइ छ। उनका अनुसार एनसीएचआरसीमा शल्यक्रिया, केमोथेरापी, रेडियसन थेरापीदेखि काउन्सिलिङ र पुनर्स्थापनासम्मका सेवा समन्वयात्मक रूपमा उपलब्ध छन्।
‘हेड एन्ड नेक क्यान्सरको उपचारमा हामीले निकै फड्को मारेका छौं,’ उनले भने, ‘सर्जरी, केमो र रेडियसनसँगै बिरामीको काउन्सिलिङ तथा पुनर्स्थापनालाई पनि उपचारकै महत्वपूर्ण हिस्सा बनाएका छौं।’
जटिल उपचारमा एकीकृत प्रणाली
अस्पतालका अध्यक्ष डा. श्रेष्ठले नाक, कान तथा घाँटीको क्यान्सरको उपचार निकै जटिल हुने बताए। उपचारका क्रममा कुनै एउटा पक्ष कमजोर भए पनि बिरामीले जीवनभर गम्भीर समस्या भोग्नुपर्ने जोखिम रहने उनको भनाइ छ।
उनका अनुसार केही वर्षअघिसम्म यस्ता जटिल क्यान्सरको उपचारका लागि नेपाली बिरामी विदेश जानुपर्ने अवस्था थियो। यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यले करिब एक दशकअघि एनसीएचआरसीले त्यो सपना देखेको थियो। ‘हामीले नाक, कान तथा घाँटीको क्यान्सरको अत्याधुनिक उपचार प्रणाली विकास गर्न सपना देखेका थियाैँ’, उनले भने, ‘१० वर्षको दाैरानमा यो सफल मात्र होइन विश्वस्तरको बनेको सुनाउन पाउँदा गर्व लाग्छ।’
‘कुनै समय नेपालमा यस्तो उपचार कठिन थियो। त्यसैले १० वर्षअघि नै नेपालमै उत्कृष्ट उपचार पद्धति विकास गर्ने उद्देश्यले काम सुरु गरेका थियौं,’ डा. श्रेष्ठले भने।
उनका अनुसार अहिले नेपालमै विभिन्न विशेषज्ञ विभागको समन्वय र आधुनिक प्रविधिको प्रयोगबाट नाक, कान तथा घाँटीको क्यान्सरको उपचार सम्भव भएको छ। उपचारको गुणस्तर विदेशमा उपलब्ध हुने उपचारको स्तरसँग तुलना गर्न सकिने उनको दाबी छ।
तर अझै पनि क्यान्सरको नाम सुन्नासाथ उपचारका लागि विदेश जाने प्रवृत्ति रहेको भन्दै उनले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताए। विदेशमा उपचार गर्दा ठूलो आर्थिक भारसँगै परिवार र सामाजिक सहयोगबाट टाढिनुपर्ने अवस्था आउने उनले बताए।
उनले क्यान्सरको उपचारलाई केवल रोग निको पार्ने प्रक्रियाका रूपमा मात्र नहेरी उपचारपछि बिरामीलाई मानसिक तथा शारीरिक रूपमा सबल बनाउँदै सामान्य जीवनमा फर्काउनेतर्फ पनि अस्पतालले काम गरिरहेको बताए।
समयमै पहिचान र रेफरलमा जोड
प्रेस मिटमा चिकित्सकहरूले नाक, कान तथा घाँटीको क्यान्सर नियन्त्रणका लागि उपचार सेवाको विस्तारसँगै जनचेतना, प्रारम्भिक पहिचान र समयमै विशेषज्ञकहाँ रेफरल प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
अस्पतालका अनुसार टाउको तथा घाँटीको क्यान्सरको उपचारमा शल्यक्रिया, रेडियोथेरापी र केमोथेरापीलगायतका विधिलाई बिरामीको अवस्था र रोगको चरणअनुसार समन्वय गरी अघि बढाउनुपर्छ। यसका लागि विभिन्न विधाका विशेषज्ञबीचको सहकार्य आवश्यक छ।
एनसीएचआरसीले पछिल्लो १० वर्षमा टाउको तथा घाँटीको क्यान्सर उपचारमा आधुनिक उपचार प्रविधि, बहुविधागत विशेषज्ञ सहकार्य र चिकित्सकीय उत्कृष्टतामार्फत बिरामीको उपचारको स्तर सुधार गर्न महत्वपूर्ण काम गरेको जनाएको छ।
अस्पतालले आफ्नो १० वर्षे अनुभवलाई आगामी दिनमा अझ प्रभावकारी क्यान्सर उपचार सेवा विस्तार गर्ने जगका रूपमा लिँदै नेपालमै गुणस्तरीय तथा समग्र क्यान्सर उपचार उपलब्ध गराउने उद्देश्यसहित उपचार, अनुसन्धान र विशेषज्ञ सेवाको विस्तारलाई निरन्तरता दिने जनाएको छ। जसका लागि यसअघि नै अस्पतालले १०० करोडको योजना सार्वजनिक गरिसकेको छ।
क्यान्सर उपचार डा. सुदीप श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल स्वरुपा श्रेष्ठ

