



काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आइतबार स्कटल्यान्डविरुद्ध भएको खेलमा सन्दीपले १५०औँ विकेट पूरा गर्दै विश्वकै सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बन्न सफल भएका हुन् ।
यसअघि यो रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा थियो । स्टार्कले सन् २०१९ को विश्वकपमा वेस्टइन्डिजविरुद्ध ७७ खेलमा १५० विकेट पूरा गरेका थिए । तर सन्दीपले भने ७३ ओडीआई खेलको ७१ इनिङ्समै १५० विकेट पूरा गर्दै नयाँ इतिहास रचेका हुन् ।
स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले आफ्नो दोस्रो विकेट लिँदै १५० विकेटको कीर्तिमान पूरा गरेका थिए । उनले १२औँ ओभरको तेस्रो बलमा जर्ज मुन्सेलाई पेभिलियन फर्काएका थिए भने २०औँ ओभरको अन्तिम बलमा ७३ रन बनाएका ब्रान्डन मकमलेनलाई इशान पाण्डेको हातबाट क्याच आउट गराउँदै उक्त उपलब्धि हासिल गरेका हुन् ।
सन्दीपको नाममा ओडीआई क्रिकेटका अन्य महत्वपूर्ण कीर्तिमान पनि रहेका छन् । उनले ४२ खेलमै १०० विकेट पूरा गर्दै सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमानसमेत बनाएका छन् । साथै लगातार तीन ओडीआई खेलमा चार–चार विकेट लिने कीर्तिमान पनि उनकै नाममा रहेको छ ।
ओडीआई क्रिकेटमा सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन सन् २०२१ मा पपुवा न्यूगिनीविरुद्ध आएको थियो, जहाँ उनले ११ रन खर्चेर ६ विकेट लिएका थिए ।
विश्व कीर्तिमान सन्दीप लामिछाने



