


काठमाडौं । दोस्रो विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक शक्ति संघर्ष अब सडक, संगठन र औपचारिक बैठक हुँदै सार्वजनिक शक्ति प्रदर्शनको चरणमा पुगेको छ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले आजदेखि काठमाडौंको धुम्वाराहीमा राष्ट्रिय भेला सुरु गर्दै छ भने उता पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले पनि आजै केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। एउटै पार्टीका दुई धारले एकै दिन आ–आफ्नो शक्ति देखाउन खोज्नुले कांग्रेसभित्रको विवाद सामान्य गुटगत प्रतिस्पर्धाभन्दा माथि पुगेको संकेत गरेको राजनीतिक विश्लेषकहरुको बुझाइ छ।
देउवा पक्षले काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तीनदिने राष्ट्रिय भेला आयोजना गरेको छ। भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला रहेका छन्। भोलि र पर्सि बन्दसत्र चल्ने भेलामा देशभरबाट पाँच हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने दाबी गरिएको छ।
यो भेला संगठनात्मक भेटघाटका रूपमा मात्र सीमित नरहने संकेत आयोजक पक्षकै गतिविधिले गरिसकेको छ। भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। त्यस प्रतिवेदनले कांग्रेसको वर्तमान अवस्था, विशेष महाधिवेशनबाट बनेको नेतृत्व, पुरानो संरचनाको वैधानिकता र आगामी राजनीतिक बाटोबारे धारणा तय गर्ने अपेक्षा गरिएको छ।
यसअघि देउवा–खड्का पक्षले विशेष महाधिवेशनबाट बनेको नयाँ संरचनामा १४औँ महाधिवेशनबाट निर्वाचित संरचनालाई समायोजन गर्नुपर्ने माग गर्दै आएको थियो। संस्थापन पक्षले भने त्यसरी समानान्तर संरचना कायम गर्ने प्रस्तावलाई स्वीकार गर्दै आएको छ। यही विवादका कारण असन्तुष्ट पक्षले राष्ट्रिय भेलापछि थप कठोर राजनीतिक निर्णय लिन सक्ने संकेतसमेत दिएको विश्लेषकहरु बताउँछन्।
देउवाको ‘कमब्याक’ले झनै तरंग
करिब साढे पाँच महिना लामो समय विदेशमा रहेका देउवा स्वदेश हिँजो स्वदेश फर्किएलगत्तै उनको स्वागतमा विमानस्थलमा देखिएको ठूलो भीडलाई अहिले कांग्रेसभित्रको शक्ति समीकरणसँग जोडेर हेर्न थालिएको छ।
देउवा पक्षका लागि यो भीड केवल स्वागत कार्यक्रम थिएन, आफ्नो राजनीतिक आधार अझै कमजोर नभएको सन्देशका रूपमा यसलाई प्रस्तुत गर्ने अवसरका रुपमा लिइएको थियो। विशेषगरी पार्टीको औपचारिक नेतृत्व गगन थापाको हातमा पुगेपछि देउवा पक्षका नेताहरूले संगठनमा आफ्नो प्रभाव अझै कम नभएकाे देखाउन खोजिरहेका छन्। जसको संकेतका रुपमा बिहीबार देउवाले दिएको कडा प्रतिक्रियालाई बुझ्नुपर्ने राजनीतिक जानकारहरु बताउँछन्।
यही कारण आज सुरु हुने राष्ट्रिय भेलाको उपस्थिति र मञ्चमा देखिने नेताहरूलाई निकै चासोका साथ हेरिएको छ। देउवा स्वयंले भेलाको उद्घाटन गर्ने कार्यक्रमले यसको राजनीतिक महत्व थप बढाएको छ।
यसअघि देउवा–खड्का-कोइराला समूहले देशका सातै प्रदेशमा भेला गरिसकेको छ। ती भेलापछि राष्ट्रिय भेला बोलाइएको हो। त्यसैले आजको कार्यक्रमलाई प्रदेशस्तरमा संकलित असन्तुष्टिलाई केन्द्रीय राजनीतिक शक्तिमा रूपान्तरण गर्ने प्रयासका रूपमा पनि बुझ्न सकिन्छ।
चुनदेवीमा समानान्तर शक्तिको संकेत ?
देउवा पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्नुलाई पनि अर्थपूर्ण रुपमा लिनुपर्ने जानकारु बताउँछन्। पार्टीको आधिकारिक संरचना एकातिर हुँदाहुँदै अर्को समूहले छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्नु एउटा पार्टीको जीवनमा सामान्य गतिविधिभन्दा संगठित राजनीतिक तयारीको संकेतका रुपमा बुझ्नुपर्ने जानकारहरु बताउँछन्।
त्यसमाथि उक्त पक्षले देउवालाई सभापतिकै हैसियतमा प्रस्तुत गर्दै आएको छ। यता निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको थियो। र अदातले दिएको आधिकारिकता अहिले आएर पुनरावलोकनको चरणमा जानुले पनि फरक संकेत गरेको जानकारहरु बताउँछन्।
यसले कांग्रेसमा हाल देखिएको विवादको चुरो ‘को सभापति ?’ भन्दा पनि कुन संरचना वैध र कुन समूह कांग्रेसको राजनीतिक उत्तराधिकारी ? भन्ने प्रश्नमा पुगेको देखाउँछ।
बैठकबाट प्रतिकार
उता गगन थापा नेतृत्वको संस्थापन पक्षले पनि आजै केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठकको सुरुवातमै उपसभापति विश्वप्रकाश शर्माले ‘जरुरी सम्बोधन’ गर्ने सूचना सार्वजनिक गरिएको छ।
बैठकमा सञ्चारमाध्यमलाई प्रवेश दिने तयारीले संस्थापन पक्षले आफ्ना गतिविधिलाई सार्वजनिक रूपमा देखाउने मनसाय राखेको बुझिन्छ। एकातिर देउवा पक्षले पाँच हजारभन्दा बढी कार्यकर्ता उतारेर आफ्नो शक्ति देखाउने तयारी गरेको छ भने अर्कोतिर संस्थापनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएर मिडियामार्फत आफ्नो वैधानिककता पुष्टि गर्ने र संगठनात्मक नियन्त्रण देखाउने प्रयास गरिरहेको छ।
अब काँग्रेसमा दुईटा राजनीतिक केन्द्र !
कांग्रेसको अहिलेको संकटलाई विगतका गुटगत विवादसँग मात्र तुलना गर्न नमिल्ने अवस्थामा पुगेको छ। यसपटक विवादको केन्द्रमा नेतृत्व परिवर्तन, विशेष महाधिवेशन, पुरानो कार्यसमितिको निरन्तरता, निर्वाचन आयोगको मान्यता र अदालतको पुनरावलोकन लगायतका प्रश्न जोडिएका छन्।
त्यसैले राष्ट्रिय भेलामा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई विशेष महत्वका साथ हेरिएको छ। प्रतिवेदनले यदि संस्थापनसँग सहकार्यको सम्भावना समाप्त भएको निष्कर्ष निकाल्यो भने त्यसले समानान्तर संरचना वा नयाँ राजनीतिक दल गठनको बहसलाई थप बल दिनसक्ने अनुमान गर्न सकिन्छ।
शशांकको भूमिका चासोपूर्ण
राष्ट्रिय भेलाको संयोजकका रूपमा डा. शशांक कोइरालाको भूमिका पनि अर्थपूर्ण छ। उनी बीपी कोइरालाका पुत्र भएकाले कांग्रेसको परम्परागत राजनीतिक विरासतसँग जोडिएका नेता हुन्।
पार्टीभित्र नेतृत्व संकट गहिरिँदै जाँदा शशांकको नाम वैकल्पिक नेतृत्वका रूपमा चर्चामा आएको छ। उनैको संयोजकत्वमा भइरहेको भेलामा देउवाले प्रमुख रुपमा सम्वोधन गर्ने कार्यक्रम पनि अर्थपूर्ण रुपमा लिइएको छ। यसले देउवा पक्षलाई ‘वैकल्पिक कांग्रेस’ निर्माणको सम्भावित राजनीतिक आधार निर्माणको रुपमा हेरिएको छ।
यदि भेलाले संस्थापनसँग वार्ता र एकताको ढोका खुलै राख्यो भने यो शक्ति प्रदर्शनपछि पुनः संवादको बाटो खुल्न सक्छ। तर समानान्तर संगठन, वैकल्पिक नेतृत्व वा छुट्टै राजनीतिक अस्तित्वतर्फ जाने निर्णय भयो भने कांग्रेसको आन्तरिक विवाद औपचारिक विभाजनतर्फ अगाडि बढ्ने राजनीतिक विश्लेषकहरुको बुझाइ छ। देउवा पक्षको भेला र गगन नेतृत्वले संवादको पहल नगर्नुले उब्जाएको मुख्य प्रश्न हो- अब नेपाली कांग्रेस एउटै संरचनामा फर्किएला कि दुईवटा राजनीतिक केन्द्रमा विभाजित होला ?
गगन थापा नेपाली कांग्रेस शेरबहादुर देउवा

