Logo
३ भदौ २०८३, बुधबार

मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

अक्षरपाटी
२०८३ भदौ ३ , बुधबार ११:०८ मा प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नयाँ अध्यक्षको जिम्मेवारी वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. ढुन्डिराज पौडेलले सम्हाल्ने भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बुधबार उनलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्।

काउन्सिलको नेतृत्वमा आएका डा. पौडेल सरकारी स्वास्थ्य संस्थाको व्यवस्थापनदेखि चिकित्सा शिक्षा सुधारका विषयमा सक्रिय रूपमा धारणा राख्दै आएका चिकित्सक हुन्। उनी यसअघि भरतपुर अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारीमा थिए।

भरतपुर अस्पतालको नेतृत्व गर्दा पौडेलले अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने तथा चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक संरचना बलियो बनाउने योजना अघि सारेका थिए। अस्पताललाई अन्य संस्थामा निर्भर नराखी आफ्नै कानुनी आधारसहित राष्ट्रिय चिकित्सा विज्ञान संस्थानको स्वरूपमा विकास गर्नुपर्ने उनको धारणा थियो।

सरकारी अस्पतालको सेवा क्षमता विस्तार, व्यवस्थापन सुधार तथा चिकित्सा शिक्षालाई प्रभावकारी बनाउने विषयमा पनि उनले जोड दिँदै आएका छन्।

अब नेपाल मेडिकल काउन्सिलको अध्यक्षका रूपमा पौडेलसामु चिकित्सकीय पेशालाई व्यवस्थित र मर्यादित बनाउने, चिकित्सकको व्यावसायिक आचरणको नियमन गर्ने तथा चिकित्सा शिक्षासँग जोडिएका विषयलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी हुनेछ।

डा. पौडेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस पूरा गरेका छन्। सोही संस्थानबाट उनले नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका हुन्।

काउन्सिलको कामसँग पनि उनी यसअघि नै जोडिइसकेका छन्। उनले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।

डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिल