Logo
८ जेठ २०८३, शुक्रबार

गैरकानुनी रूपमा डाक्टर लेख्नेलाई ३ वर्षसम्म जेल

अक्षरपाटी
२०८३ जेठ ८ , शुक्रबार १२:०५ मा प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गैरकानुनी रूपमा नामको अगाडि ‘डा.’ वा ‘चिकित्सक’ उपाधि प्रयोग गर्ने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गर्नेहरूलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाएको हो ।

मेडिकल काउन्सिल तथा सम्बन्धित परिषद्मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेख्ने, बिरामी जाँच्ने, परामर्श दिने तथा औषधि सिफारिस गर्ने कार्यले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै काउन्सिलले यस्तो कदम चालेको जनाएको छ ।

काउन्सिलका अनुसार विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा समेत गैरचिकित्सक व्यक्तिहरूले अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गरिरहेका छन् ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्ने, उपचार गर्ने, परामर्श दिने तथा एलोप्याथिक औषधि सिफारिस गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको काउन्सिलले स्पष्ट पारेको छ ।

काउन्सिलले १५ दिनभित्र नाम, साइनबोर्ड, प्रेस्क्रिप्सन प्याड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट गैरकानुनी रूपमा राखिएको ‘डा.’ उपाधि हटाउन निर्देशन दिएको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार समयसीमा सकिएपछि विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी गर्नेछ ।

अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गरेको वा सोको आडमा बिरामी जाँच्ने तथा औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ अनुसार मुद्दा चलाइने काउन्सिलले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिल

ट्रेन्डिङ ( साप्ताहिक )