Logo
८ भदौ २०८३, सोमबार

‘हेमबहादुर मल्ल सम्मान’ बाट डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाल सम्मानित

अक्षरपाटी
२०८३ भदौ ८ , सोमबार ०८:०८ मा प्रकाशित

राष्ट्रपति पाैडेलले भने : समाजमा नैतिकता, आचरण, आत्मानुशासन र इमान्दारीताको खाँचो छ

o अक्षरपाटी विशेष

काठमाडाैं। सार्वजनिक प्रशासन, समावेशी न्याय र संस्थागत नेतृत्वको क्षेत्रमा सबैभन्दा उच्च मानिनने यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ वरिष्ठ चिकित्सक डा. रामकण्ठ माकजू श्रेष्ठ र पूर्व अर्थ सचिव तथा पूर्व अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई अर्पण गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उनीहरुलाई दुई लाख नगद पुरस्कारसहित सम्मान गरिएको हो। श्रेष्ठलाई २०८१ र खनाललाई २०८२ सालको सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

वरिष्ठ चिकित्सक तथा काठमाडाैं विश्वविद्यालयका पूर्व उपकुलपति श्रेष्ठ नेपालकै उत्कृष्ठ नमूना सामुदायिक धुलिखेल अस्पतालको स्थापनामा अतुलनीय योगदान पुर्याएका व्यक्ति हुन् भने खनाललाई नेपालको अर्थतन्त्र र जेनजी आन्दोलनपछिको विशिष्ट संवेदनशील अवस्थामा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै निर्वाचन सम्पन्न गराई देशमा राजनीतिक स्थिरता सुनिश्चित गरेवाफत सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा सम्वोधन गर्दै राष्ट्रपति पाैडेलले हाम्रो समाजलाई प्रविधिभन्दा अलिक बढी नैतिकता, आचरण, आत्मानुशासन र इमान्दारीताको खाँचो भएको बताए। राष्ट्रपति पौडेलले प्रविधि र क्षमता त अरूबाट पनि लिएर उपयोग गर्न सकिने तर आचरण, नैतिकता, आत्मानुशासन र इमान्दारीता व्यक्तिको अन्तस्करणको विषय भएको बताए ।

सोमबार साल्ट ट्रेडिङ कर्पोरेसनको साैजन्यमा नेपाल जनप्रशासन संघद्वारा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई लाग्दछ– आज हाम्रो समाजलाई त्यही नैतिकता, आत्मानुशासन, आचरण र इमान्दारीताको अलिक बढी खाँचो छ।’

राष्ट्रपति पौडेलले कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासलाई समयसँगै बदलिदिए पनि इमानदारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता कहिल्यै पुराना नहुने बताए।

सम्मानग्रहणपछि वरिष्ठ चिकित्कस श्रेष्ठले चारैतिर नकारात्मकता, निन्दा र आलोचनाको लहर फैलिरहेको अहिलेको माहोलमा पनि राम्रा कामको लेखाजोखा हुने संस्कार नहराएको बताउँदै भने, ‘नियत सफा र प्रयत्न इमान्दार गरियो भने ढीलोचाँडो मुल्यांकन हुने मात्र होइन सम्मानको हकदार बनिने रहेछ।’

उनले जनताको सेवा गर्ने मामिलामा सबैभन्दा ठूलो जिम्मेवारी र पहुँच सरकारको हुने भए पनि सरकार, शैक्षिक क्षेत्र, समुदाय, निजी क्षेत्र र गैरसरकारी सँस्थाहरु मिलेर काम गर्दा अर्थपूर्ण र दीर्घकालीन परिवर्तन सम्भव हुने अनुभव आफूले संगालेको सुनाए। उनले व्यक्तिभन्दा सँधै सँस्था बलियो हुनुपर्ने बताउँदै त्यसका लागि स्पष्ट दृष्टिकोण, इमानदारीता, व्यवसायिकता, जवाफदेहिता र निरन्तरताबाट मात्रै सम्भव हुने बताए।

त्यस्तै हेमबहादुर मल्ल सम्मान २०८२ बाट सम्मानित पूर्व अर्थमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासनको ढिलासुस्ती र ‘भोलिवादी’ प्रवृत्ति नागरिकका लागि घातक रहँदै आएको सुनाए।
उनले प्रशासन भनेको कर्मचारी र फाइलबीचको प्रक्रिया मात्र नभई लाखौँ सेवाग्राहीको भविश्य र जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको बताए।

उनले स्वदेशमै अवसरको अभाव, राज्यको कमजोर प्रशासनका कारण आज पनि लाखौँ युवा श्रम बेच्न खाडी मुलुक र विदेशिन वाध्य भएको अवस्था दुर्भाग्यपूर्ण भएको बताए।

‘दुर्गमका बालबालिका शिक्षाबाट वञ्चित हुनु र युवाहरू परदेशिनुमा हाम्रो प्रशासनिक प्रणालीमा कहीँ न कहीँ कमजोरी छ। जबसम्म गाउँका बालबालिका अवसरबाट वञ्चित हुन्छन् र युवाहरू जीविकोपार्जनका लागि पलायन हुन्छन्, तबसम्म हामीले आफ्नो जिम्मेवारी पूरा भएको भन्न मिल्दैन’, खनालले भने। दुबैजना सम्मानित व्यक्तित्वले नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई आभार व्यक्त गरे।

साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जन–प्रशासन संघले यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर प्रसाद गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य, डा भेषबहादुर थापा र पूर्व प्रधान न्यायाधीस कल्याण श्रेष्ठ जस्ता व्यक्तित्वलाई सो सम्मान प्रदान गरिसकिएको छ ।

ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक हेमबहादुर मल्लले सँधै आफ्नो सेवासुविधाको वास्ता नगरी २५ वर्ष साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा दिएको योगदनाको गरेका थिए।

हेमबहादुर मल्लको सम्झनामा देशको प्रशासनिक र सार्वजनिक क्षेत्रमा अतुलनीय र अनुकरणीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले नेपाल जन-प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनको आपसी समझदारीबाट मल्लको कदर गर्दै २०५९ सालमा सो सम्मान स्थापना गरिएको हो।

नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष स्व. प्रा.चूडाराज उप्रेती र महासचिव कृष्णहरि बास्कोटाको नेतृत्व र साल्ट ट्रेडिङका अध्यक्ष कमलमणि दीक्षित र महाप्रबन्धक परमेश्वर महासेठको समन्वयकारी भूमिकामा दुवै संस्थाका कार्यकारी समिति वा सञ्चालक समितिको निर्णयबाट यो सम्मान स्थापना भएको हो। साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड २०२० साल भाद्र २७ गते बिहीबारका दिन स्थापना भएको हो।

साल्ट ट्रेडिङ कर्पोरेसन हेमबहादुर मल्ल सम्मान