


धनगढी । काठमाडाैंमा मात्र नभै चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य र माग बढिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
उपभोक्तालाई सहुलियत दरमा चिनी, नुनलगायत खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएका पसलबाट खानेतेल, दाल, चामल र चिउरा खरिद गर्न सकिनेछ। कर्पोरेसनले कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दीपायल, डडेल्धुरा तथा बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ। बजार मूल्यभन्दा किलोमा २५ रुपैयाँसम्म सस्तोमा चिनी पाइने भएपछि उपभोक्ताको आकर्षण बढेको साल्ट ट्रेडिङले जनाएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख रूपबहादुर कुँवरका अनुसार तराईका पसलबाट एक जना उपभोक्ताले पाँच किलोसम्म र पहाडी जिल्लाका पसलबाट तीन किलोसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ। धनगढीस्थित कार्यालय परिसरबाट मात्रै दैनिक करिब २५ क्विन्टल चिनी बिक्री भइरहेको उनले बताए।
नुन, तेल र दालमा छुट
सुपथ मूल्य पसलमा नुन प्रतिकिलो २४ रुपैयाँका दरले बिक्री भइरहेको छ। एक जना उपभोक्ताले बढीमा छ किलोसम्म नुन खरिद गर्न पाउने व्यवस्था गरिएको छ। बजारमा नुन ३० रुपैयाँ किलो बिक्री भइरहेको छ।
त्यसैगरी, खानेतेल, दाल र चिउरामा प्रतिकिलो सात रुपैयाँसम्म छुट उपलब्ध गराइएको कर्पोरेसनले जनाएको छ। चाडपर्वका बेला घरायसी खर्च बढ्ने र बजारमा उपभोग्य वस्तुको मागसमेत चुलिने भएकाले सहुलियत पसलले उपभोक्तालाई केही राहत दिने अपेक्षा गरिएको छ। सुपथ मूल्य पसल बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेका छन्।
वर्षभरि सहुलियतको माग
चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरिने सुपथ मूल्य पसलले उपभोक्तालाई तत्काल राहत दिए पनि नियमित बजार अनुगमन र मूल्य नियन्त्रणको भने भने हुन जरुरी छ। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबाट प्रभावित उपभोक्ताका लागि चाडपर्वमा मात्र सीमित नभई वर्षभरि सहुलियत पसल सञ्चालन गर्नुपर्ने मागसमेत उठिरहेको छ।
सहुलियत पसलबाट उपभोक्ताले कति राहत पाउँछन् भन्ने कुरा वस्तुको प्रयाप्तता, बिक्री वितरणको सहजता र वास्तविक बजार मूल्यसँगको अन्तरमा निर्भर हुनेछ। त्यसैले चाडपर्वमा सीमित हुने यस्ता कार्यक्रमलाई नियमित र प्रभावकारी बनाउन सके सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुको खर्च व्यवस्थापनमा थप सहयोग पुग्ने उपभोक्ता राजकिशोर चाैधरीले बताए।
उनले साल्ट ट्रेडिङले हरेक जिल्लामा यस्ता पसल वर्षभरी सञ्चालन गरेर आम उमभोक्तालाई राहत र मूल्यवृद्धि नियन्त्रणको नेतृत्व लिनुपर्ने बताए।
साल्ट ट्रेडिङ कर्पोरेसन

