


काठमाडौं। रसुवाको नेपाल–चीन सीमा क्षेत्र हुँदै आएको भोटेकोशी बाढीबाट बुधबार अबेर रातिसम्म १२३ जनाको मृत्यु भएको छ। बाढीका कारण २४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको राति १० बजेकसम्मको प्रतिवेदन अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
बाढीमा परी ६७ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २१ जना रहेको प्रतिवेदनमा उल्लेख छ।
रसुवामा बढी क्षति
मृत्यु हुनेमा धादिङका १८, नुवाकोटका ११, रसुवाका ९, गोरखाका १९, नवलपरासी पूर्वका १, तनहुँका ९ र चितवनका ५६ जना रहेका छन्।
सम्पर्कविहीनमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २६ तथा सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन्। रसुवामा मात्रै १६१ जना र नुवाकोटमा एक जना सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाल पर्यटन बोर्डबाट प्राप्त प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रबाट २२१ जना विदेशी र १३ जना नेपाली गरी २३४ जना पर्यटक बेपत्ता भएको विवरणसमेत सार्वजनिक गरिएको छ।
सडक र पुलमा भयानक क्षति
बाढीका कारण ३५ वटा मोटरेबल पुल र ४५ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। करिब ४० किलोमिटर सडकसमेत क्षतिग्रस्त भएको प्राधिकरणले जनाएको छ। रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयलगायतका केही सरकारी कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ।
खोज तथा उद्धार जारी
बाढीपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ। स्थलगत रूपमा ९३ जनाको उद्धार गरिएको छ भने हेलिकप्टरमार्फत थप ११६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। राति पनि उद्धार कार्यलाई निरन्तरता दिइएको गृहमन्त्रालयले जनाएको छ।
हेलिकप्टरमार्फत उद्धार गरिएकामध्ये नेपाली सेनाले ८८ जना र निजी कम्पनीको हेलिकप्टरबाट २८ जनाको उद्धार गरेको विवरण सार्वजनिक गरिएको छ।
घाइतेहरूको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल तथा त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहितका स्वास्थ्य टोली खटाइएको छ।
राहत र पुनःस्थापनालाई प्राथमिकता
प्रभावित नागरिकका लागि नेपाली सेनाको नजिकैको ब्यारेकमा तत्कालका लागि अस्थायी बसोबास, खाद्यान्न, स्वच्छ खानेपानी तथा औषधिको व्यवस्था गरिएको छ।
प्राधिकरणका अनुसार अहिलेको मुख्य प्राथमिकता घाइतेको तत्काल उद्धार तथा उपचार, सम्पर्कविहीन नागरिकको खोजी, प्रभावितको सुरक्षा र राहत वितरण रहेको छ। साथै क्षतिको विस्तृत विवरण संकलन, अवरुद्ध सडक तथा पुल, जलविद्युत्, सञ्चार र खानेपानीजस्ता भौतिक पूर्वाधारको पुनर्निर्माण तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने तयारीसमेत अघि बढाइएको छ।
प्राधिकरणले खोज, उद्धार तथा राहत व्यवस्थापनको काम निरन्तर भइरहेको जनाएको छ।
भोटेकोशी बाढी राहत र उद्धार

