Logo
१२ भदौ २०८३, शुक्रबार

भोटेकोशी बाढी : ४६९ जनाको मृत्यु, ९७७ जना अझै बेपत्ता

अक्षरपाटी
२०८३ भदौ १२ , शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन रहेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (NEOC) ले जनाएको छ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा NEOC ले २०८३ भदौ १२ गते बिहान ७ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा विपद्जन्य घटनाबाट ठूलो मानवीय क्षति भएको जनाएको हो।

विवरणअनुसार धादिङमा ३३, नुवाकोटमा ३७, रसुवामा १२, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, तनहुँमा २८, चितवनमा १७८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ। गोरखामा फेला परेका शवमध्ये विभिन्न मानव अंगसमेत रहेको उल्लेख गरिएको छ।

त्यस्तै, बाढी तथा विपद्का घटनामा ६३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका १७ जना रहेका छन्।

९७७ जना अझै सम्पर्कविहीन

विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा NEOC का अनुसार हालसम्म ९७७ जना सम्पर्कविहीन छन्। तीमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना रहेका छन्।

यस्तै, रसुवाका १६१, नुवाकोटका १ र मकवानपुरका ६६ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। ५१७ जना विदेशी नागरिक तथा नेपाल भ्रमणमा आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना समेत सम्पर्कविहीन रहेको जनाइएको छ।

३ हजार २५३ जनाको उद्धार

विपद् प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३ हजार २५३ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्।

प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको NEOC ले जनाएको छ।

२ करोड ५० लाख रुपैयाँ राहत

सरकारले बाढी प्रभावितका लागि तत्काल राहतस्वरूप रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ गरी कुल २ करोड ५० लाख रुपैयाँ नगद पठाएको छ।

यसैगरी प्रभावित क्षेत्रमा स्लिपिङ ब्याग, ब्ल्याङ्केट, त्रिपाल, बिस्कुटलगायत खाद्य तथा राहत सामग्री गरी १० ट्रक सामग्री पठाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा NEOC को विवरणमा उल्लेख छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम जारी रहेको छ। यसअघि पनि सरकारी तथा सुरक्षा निकायले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र बेपत्ताको खोजीलाई प्राथमिकतामा राख्दै आएका छन्।

भोटेकोशी बाढी

ट्रेन्डिङ ( साप्ताहिक )