Logo
२९ असोज २०८३, बिहीबार

उद्धारमा सञ्चार नटुटोस् भनेर रसुवा–नुवाकोटमा २० स्याटेलाइट फोन

अक्षरपाटी
२०८३ भदौ १४ , आईतबार ०४:०८ मा प्रकाशित

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना तथा सञ्चार सम्पर्क सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका स्याटेलाइट फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

उपलब्ध गराइएका फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। यी स्याटेलाइट फोन आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।

टेलिकम नेटवर्कको पहुँच नपुगेका दुर्गम तथा विपद् प्रभावित क्षेत्रमा समेत स्याटेलाइटको माध्यमबाट फोन र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ। सामान्य मोबाइल नेटवर्क अवरुद्ध भएका बेला समेत सञ्चार सम्पर्क कायम राख्न सकिने भएकाले विपद्को समयमा यसको प्रयोग महत्वपूर्ण मानिन्छ।

स्याटेलाइट फोनको प्रयोगले बाढी–पहिरो प्रभावित क्षेत्रमा सूचना आदानप्रदान तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढी सञ्चार