Logo
२६ भदौ २०८३, शुक्रबार

चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्मै पुग्यो सडक, भोलि–पर्सिसम्म सुरुङ छिचोलिने

अक्षरपाटी
२०८३ भदौ २६ , शुक्रबार १०:०९ मा प्रकाशित

रसुवा । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रसम्म अब सडक पुगेको छ।

नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र प्रयासपछि स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर सुरुङको मुखसम्म पहुँचमार्ग निर्माण गरिएको हो।

भौगोलिक रूपमा अत्यन्त कठिन र जोखिमपूर्ण क्षेत्रमा साढे तीन दिनको निरन्तर प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खोलिएको नेपाली सेनाले जनाएको छ।

यसअघि उक्त दुर्गम क्षेत्रमा साना हेलिकप्टरमार्फत मात्र आवश्यक सामग्री तथा उपकरण पुर्‍याउन सकिने अवस्था थियो। सडक निर्माण सुरु भएपछि स्याफ्रुबेँसीतर्फबाट एक्स्काभेटर प्रयोग गरी पहिलो चरणमा ५५० मिटर ट्र्याक निर्माण गरिएको थियो।

त्यसपछि बाँकी क्षेत्रमा रहेको चट्टानी पहरा सडक निर्माणको मुख्य चुनौती बनेको थियो। नेपाली सेनाले ९ पटक नियन्त्रित ब्लास्टिङ गरी पहरा फोरेर थप ५०० मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो।

पहरा फोर्ने र नियन्त्रित विस्फोटनको कठिन कार्य सफलतापूर्वक सम्पन्न भएसँगै चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्‍याउन सम्भव भएको हो।

सुरुङभित्रको अवस्था बुझ्न तथा आवश्यक उद्धार तथा खोजी कार्य अघि बढाउन अहिले भारी उपकरणहरू कार्यस्थलमा पुर्‍याइसकिएको छ। उपकरण तथा प्राविधिक टोली परिचालन भइसकेकाले भोलि वा पर्सिसम्ममा सुरुङ छिचोल्ने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढीपछि अवरुद्ध बनेको दुर्गम क्षेत्रमा सडक पहुँच पुनःस्थापित हुनु उद्धार तथा खोजी कार्यका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। सडक पुगेपछि हेलिकप्टरमा निर्भर रहनुपर्ने अवस्था अन्त्य हुनुका साथै भारी उपकरण, उद्धार सामग्री र प्राविधिक जनशक्ति स्थलसम्मै पुर्‍याउन सहज भएको छ।

अब सुरुङ छिचोल्ने कार्यमा केन्द्रित हुँदै नेपाली सेना तथा सम्बद्ध प्राविधिक टोलीले उद्धार तथा खोजी अभियानलाई थप तीव्रता दिने तयारी गरेको छ।

चिलिमे जलविद्युत्

ट्रेन्डिङ ( साप्ताहिक )