Logo
३ असोज २०८३, शनिबार

४३ जिल्लाका ३ हजार ३९६ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

अक्षरपाटी
२०८३ असोज ३ , शनिबार १०:०९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु भएको वडा अधिवेशन प्रक्रियामा ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनको तयारीअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरिएको हो।

निर्वाचन कार्यक्रमअनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो।

निर्वाचन सम्पन्न भएका वडाहरूबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। कांग्रेसले वडा अधिवेशनलाई महाधिवेशनको प्रारम्भिक र महत्वपूर्ण प्रक्रियाका रूपमा अघि बढाएको छ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशनको प्रक्रिया आइतबार असोज ४ गते पनि जारी रहनेछ।

केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ। समितिका सदस्य–सचिव कटुवालले अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।

कांग्रेसको वडा अधिवेशनबाट चयन हुने वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिले आगामी महाधिवेशनका विभिन्न तहका नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउनेछन्। १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।

नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन

ट्रेन्डिङ ( साप्ताहिक )