Logo
१० असोज २०८३, शनिबार

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन

अक्षरपाटी
२०८३ असोज १० , शनिबार १२:०९ मा प्रकाशित

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज असोज १० गते देशभरका अधिकांश संघीय तथा प्रदेश सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ।

अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको मिति हेरफेर गरिए पनि अधिकांश स्थानमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार आजै अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। वर्षा र यातायात अवरोध भएका क्षेत्रमा भने असोज १३ गतेभित्र अनुकूलता हेरी अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ।

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि र १२ जना महासमिति सदस्य चयन हुने व्यवस्था छ।

यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गरिनेछ। कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशनपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ।

नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन