Logo
१२ असोज २०८३, सोमबार

लालबकैया खतरा तह नजिक : चितवनमा २२२ मिलिमिटर वर्षा, पाँच प्रदेशमा भारी वर्षा

अक्षरपाटी
२०८३ असोज ११ , आईतबार ०७:०९ मा प्रकाशित

जुरेलिबजारमा बाढी बढ्दो, डुबान भइरहने क्षेत्रका बासिन्दालाई साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । निरन्तरको वर्षासँगै मकवानपुरस्थित लालबकैया खोला जुरेलिबजारमा बाढी खतरा तह नजिक पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आइतबार बिहान ६ः२० बजे जारी गरेको सूचनाअनुसार लालबकैया खोलाको जलसतह बढिरहेको र खतरा तह नजिक पुगेकाले तटीय तथा डुबान प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा चितवनको माडी कल्याणपुरमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा देशभर माडी कल्याणपुरमा सबैभन्दा बढी वर्षा भएको हो।

विभागका अनुसार मधेशसहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव थप बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

विशेषगरी नदी, खोला तथा तटीय क्षेत्रमा बसोबास गर्ने, डुबानको जोखिम रहेका बस्ती तथा सडक आसपासका नागरिकलाई अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाले आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले वर्षा र बाढीसम्बन्धी थप सूचना निरन्तर अद्यावधिक गरिरहेको जनाएको छ।

भारी वर्षा

ट्रेन्डिङ ( साप्ताहिक )