



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आगामी असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ।
कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू जारी रहेको जनाएको छ।
देशका विभिन्न स्थानमा भएको भारी वर्षा तथा त्यसबाट उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको कांग्रेसले जनाएको छ।
निर्वाचन समिति तथा पार्टीका विभिन्न तहका कार्यसमितिबाट प्राप्त जानकारीलाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोहको मिति र स्थान तय गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसको १५औँ महाधिवेशनका लागि तल्ला तहका अधिवेशनहरू क्रमशः सम्पन्न हुँदै गए पनि वर्षाका कारण केही निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनलगायतका प्रक्रिया प्रभावित भएका छन्।
पार्टीले सम्बन्धित निर्वाचन समिति र तहगत कार्यसमितिबाट प्राप्त विवरणका आधारमा महाधिवेशनको उद्घाटन कार्यक्रम भने निर्धारित मितिमै गर्ने निर्णय गरेको हो।



