



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लेखराज जोशीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। ‘सबै अट्ने देश, सबै अट्ने कांग्रेस’को नारा लिएर जोशीले उम्मेदवारी घोषणा गरेका हुन्।
विद्यार्थी राजनीतिबाट उदायका जोशीले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र समयानुकूल पुस्तान्तरणमुखी बनाउने खाकासहित उम्मेदवारी घोषणा गरेका छन्।
‘युवा सहभागिता, सुशासन, आन्तरिक लोकतन्त्र र समग्र समृद्धिलाई राजनीतिक केन्द्रमा राखेर काम गर्ने छु। अबका युवा उद्यमसँग जोडिनुपर्छ, नवीन प्रविधिसँग अभ्यस्त हुनुपर्छ। हाम्रो शिक्षा र राजनीतिक संस्कार पनि सोहि अनुरुप हुनुपर्छ। म पार्टीमा सिंगो युवाको भावना र आवाज बोक्ने उद्देश्यका साथ केन्द्रीय सदस्यको दावेदार रहेको छु,’ जोशीले भने।
लामो समयदेखि कैलाली र कञ्चनपुरमा रहेर पार्टी संगठन, सामाजिक रूपान्तरण, शैक्षिक जागरण र जनजीविकाका मुद्दामा निरन्तर क्रियाशील रहँदै आएकोमा यस पटक महाधिवेशन प्रतिनिधिले आफूलाई विजयी गराएर थप ऊर्जा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरे।
कांग्रेसलाई केवल चुनाव जित्ने माध्यममा मात्र सीमित नराखी नयाँ युग र नयाँ पुस्ताको आवश्यकताअनुसार अघि बढाउन नीतिगत तहमा युवाको उपस्थिति अपरिहार्य रहेको उनको भनाइ छ।
उनले कार्यकर्ता तथा नागरिकका समस्यालाई पार्टीको नीति निर्माणको केन्द्रमा ल्याउने प्रतिबद्धता जनाएका छन्। युवाहरूलाई उद्यमशीलता, प्रविधि र नेतृत्व विकासमा जोड्दै पार्टीको सदस्यता वितरण तथा सूचना प्रणालीलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
युवाहरूलाई आफ्नै गाउँ-ठाउँमा स्वरोजगार बनाउने खालका बजेट तथा नीतिगत सुधारका लागि पार्टीका तर्फबाट स्पष्ट दृष्टिकोण तय गर्ने र गाउँबाट हुने तीव्र युवा पलायन रोक्न अवसरको खोजीसहितको भूमिका निर्वाह गर्ने उनको योजना छ।
पार्टीभित्र गुटबन्दी र आन्तरिक खिचातानीको अन्त्य गर्दै निष्ठावान्, इमानदार र श्रम गर्ने कार्यकर्ताको उचित मूल्याङ्कन हुने पारदर्शी प्रणाली बसाल्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्। साथै, पार्टीका जनप्रतिनिधि तथा नेताहरूमाझ सुशासन र पारदर्शिता कायम गराउन भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइनुपर्ने उनको अडान छ।
आफू कुनै व्यक्तिगत पद वा महत्त्वाकांक्षाका लागि नभई दुर्गमका कार्यकर्ताको आवाज र युवा पुस्ताको उज्ज्वल भविष्यका लागि मैदानमा उत्रिएको जोशीको भनाइ छ।
नेपाली कांग्रेसभित्र संघर्षशील व्यक्तित्वको पहिचान बनाएका जोशी २०५३ सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टीको मूलधार राजनीतिमा सक्रिय छन्। धनगढीस्थित पञ्चोदोय माविमा नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ सदस्य हुँदै केन्द्रीय सदस्यसम्म भएका छन्।
यसका साथै पार्टीमा उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सचिव निर्वाचित हुँदै जिल्ला सदस्य, जिल्ला सहसचिव, महासमिति सदस्यसमेत भएर काम गरिसकेका छन्। विशेष महाधिवेशन सम्पन्न गर्न पनि जोशीले सुदूपश्चिमबाट सक्रिय भूमिका निर्वाह गरेका थिए।
जोशी २०६२/६३ सालको जनआन्दोलनका घाइतेसमेत हुन्। उनले आन्दोलनका क्रममा पटक/पटक गरी ६ महिना काराबास जीवन भोगिसकेका छन्। द्वन्द्वपीडित परिवारका सदस्य उनी तत्कालिन वाइसीएल आक्रमणमा परेरसमेत घाइने भएका थिए। उनी राजनीतिसँगै कुशल विचारक र लेखकका रुपमा समेत परिचित रहँदै आएका छन्।
नेपाली कांग्रेस लेखराज जोशी १५औँ केन्द्रीय महाधिवेशन

