Logo
१७ असोज २०८३, शनिबार

कविता : काँडेतार

अक्षरपाटी
२०८३ असोज १७ , शनिबार ०२:१० मा प्रकाशित

o लिला अनमोल

​क्षितिजमा टाँगिएका तिखा काँडेतारहरू
सिमाना मात्र कहाँ हुन्
तीं त चेतनाको घेराबन्दी
र मानव स्वतन्त्रतामाथि ठड्याइएका अङ्कुश हुन्।

खबरदार ! ए समाजका ठेकेदारहरु !!
बचनका तिखा शूलहरूले मुटु घोच्न त सक्लान्
तर पखेटा उघाएर उड्ने विचार र आत्मसम्मानलाई
कहिले बाँध्न सकेका छन् र?

​काँडेतारको पर्खालभित्र
कहिले प्रहार भयो एउटी नारीको गरिमामाथि
कहिले प्रश्न उठाइयो तिनको पखेटा र रोजाइमाथि।
तर सुन है समय!
महिला रूप वा छायाँ होइनन्
उ त घरकि शक्ति
समाजकी चेतना
र राष्ट्रकी मूल शक्ति हुन्।

याद राख
​तिनको कोमलताभित्र
एउटा अटल हिमालजस्तै सहनशीलता मुस्कुराउँछ
जसले आँधीलाई पनि मन्द समीर बनाउने सामर्थ्य राख्छ।
तिम्रो इतिहासका पृष्ठहरू पल्टाएर हेर
तिनकै धीरता र त्यागको रापले
संसारमा ठूला-ठूला क्रान्ति र परिवर्तनका मूल फुटाएका छन्।

​महिला : प्रेम र ममताकी अगाध खानी हुन्
जसको वात्सल्यले विवेकहीन समाजलाई संयमित बनाउँछ
जसको करुणाले उछृङ्खल पाइलाहरूलाई अनुशासित बनाउँछ।
उनी सृष्टि हुन्, उनी नै गति हुन्
जसको अस्तित्वबिना यो धरा केवल बाँझो मरुभूमि हो।

​अझै कति दिन उभ्याइरहन्छौ
विचार र अधिकारका बाटोमा यी काँडेतारहरू
अब काँडेतारहरू पन्छाएर
नारीको अस्तित्व र स्वाभिमानलाई
सम्मानको दृष्टि परोस्
जहाँ महिलाले बिना त्रास, बिना हिचकिचाहट
आफ्नो पखेटा फैलाएर
स्वतन्त्रताको नीलो आकाशमा निर्भिक उड्न सकून्।

-बिर्तामोड झापा

कविता लीला अनमोल