


o डा. शशी थापा पण्डित
सगरमाथाको निधारमा
अझै एउटा सूर्य अस्ताएको छैन
बडाकाजी अमर सिंह!
त्यो सूर्य-
तिम्रो स्वाभिमान हो,
महाकालीका छालहरू
आज पनि सतलजतिर फर्केर सोध्छन्-
‘कहाँ गए ती पाइलाहरू,
जसले पहाडलाई नै सीमा बनाउन सिकाएका थिए?’
हिमालका चट्टानहरू
तिम्रो मौन जीवनीका पाना हुन्,
जसमा हिउँले
रगतका अक्षरहरू ढाक्न खोजे पनि
इतिहासले तिनलाई मेट्न सकेन।
तिमी हिँड्दा
गोरखाको माटोले खुकुरी उम्रायो,
खुकुरीले केवल इस्पातको धार बोकेन,
त्यसले मातृभूमिको मुटुको धड्कन बोकेको थियो।
मलाऊ कुनै किल्ला थिएन,
त्यो त हिमालको छातीमा उभिएको
स्वाभिमानको दीपस्तम्भ थियो।
नालापानी कुनै युद्ध थिएन,
त्यो त एउटा सानो मुहानले
साम्राज्यको समुद्रलाई चुनौती दिएको कथा थियो।
जैथकका वनहरूमा
हावाले अझै रणभेरी फुक्छ,
देउथलको उकालोमा
रक्तका फूलहरू हरेक वसन्त फक्रन्छन्
त्यहाँ लालिगुराँस मात्र होइन,
बलिदान पनि फुल्छ।
अङ्ग्रेजका तोपहरू
मेघ गर्जिएझैँ गर्जिए,
तर अमर तिम्रो मौनता
हिमालजस्तै अचल रह्यो।
किनकि तिमीलाई थाहा थियो-
बारुदको आयु छोटो हुन्छ,
तर स्वाभिमानको प्रतिध्वनि युगौँ बाँच्छ।
तिम्रो तरबारले
केवल शत्रुको बाटो छेकेन,
उसले नेपाली आत्मालाई
दासताको अँध्यारोबाट जोगायो।
आज पनि
जब कुनै बालकले पहिलोपटक
‘नेपाल’ उच्चारण गर्छ,
त्यस शब्दभित्र
तिम्रो रगतको एउटा थोपा चम्किरहेको हुन्छ।
जब राष्ट्रिय ध्वजा
हिमाली हावामा फरफराउँछ,
त्यसको प्रत्येक कम्पनमा
तिम्रो मुटुको धड्कन सुनिन्छ।
गोर्खाली-
जुन नाम तिम्रा विरताले दिलायो
यो कुनै जात होइन,
कुनै भूगोल मात्र पनि होइन।
यो त एउटा आगो हो,
जो पराजयको खरानीभित्र पनि निभ्दैन।
बडाकाजी तिमी कहाँ इतिहासको पानामा मात्र हौ र
तिमी त हिउँले नढाक्ने शिखर हौ,
तिमी त नदीले नबगाउने शिला हौ,
तिमी त समयले नओइल्याउने
रक्तिम लालीगुराँस हौ।
जबसम्म
हिमालले आकाशलाई काँध दिइरहनेछ,
नदीले समुद्रतिर आफ्नो गीत बगाइरहनेछ,
र नेपाली आमाले
आफ्ना सन्तानलाई साहसको दूध पिलाइरहनेछिन्-
तबसम्म
तिम्रो नाम कुनै समाधिमा होइन,
प्रत्येक नेपालीको ढुकढुकीमा धड्किरहनेछ…
वीर अमर सिंह… वीर अमर सिंह
किनकि
वीरहरू मर्दैनन्-
उनीहरू हिमाल बन्छन्,
नदी बन्छन्,
लालीगुराँस बन्छन्,
र अन्ततः
एउटा राष्ट्रको आत्मा बन्छन्।
o डा. शशी थापा पण्डित कविता

