


काठमाडौं । क्यान्सर उपचारमा बढ्दो चुनौती, औषधिको उपलब्धता र सुरक्षा तथा उपचारमा समान पहुँचको विषयमा केन्द्रित हुँदै नेपाल क्यान्सर सम्मेलन २०२६ सम्पन्न भएको छ।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको आयोजनामा असोज १६ र १७ गते काठमाडौंको होटल र्याडिसनमा भएको सम्मेलनमा नेपालसहित विभिन्न देशका क्यान्सर रोग विशेषज्ञ, चिकित्सक, नर्स, अनुसन्धानकर्ता, नीति निर्माता, औषधि व्यवसायी र क्यान्सर विजेतासहित ४ सय भन्दा बढी प्रतिनिधि सहभागी थिए।
‘अवरोध तोडौँ, आशा जगाऔँ : क्यान्सरविरुद्ध सामूहिक लडाइँ’ भन्ने मूल नारासहित भएको सम्मेलनमा यसपटक विशेषगरी स्तन तथा फोक्सो क्यान्सर, बहुविषयक उपचार प्रणाली र क्यान्सर औषधिको उपलब्धता तथा सुरक्षालाई प्राथमिकतामा राखिएको थियो।
नेपालमा वर्षेनी साढे २४ हजार नयाँ क्यान्सरका बिरामी
सम्मेलनमा प्रस्तुत तथ्यांकअनुसार नेपालमा वर्षेनी करिब २४ हजार ४९९ जना नयाँ क्यान्सर बिरामी थपिने र १७ हजार २१३ जनाको मृत्यु हुने गरेको अनुमान छ। अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आईएआरसी) को ग्लोबोकान २०२४ अनुसार ७५ वर्ष नपुग्दै क्यान्सर लाग्ने जोखिम नेपालमा करिब ९.९ प्रतिशत छ।
महिलामा स्तन क्यान्सर सबैभन्दा बढी देखिने क्यान्सरका रूपमा रहेको छ। वार्षिक करिब १ हजार ७४६ नयाँ बिरामी थपिने र ७५० जनाको मृत्यु हुने अनुमानित आँकडा सम्मेलनमा प्रस्तुत गरिएको थियो।
त्यस्तै, फोक्सोको क्यान्सरका १ हजार ४७७ नयाँ बिरामी र १ हजार ३५८ जनाको मृत्यु हुने अनुमान प्रस्तुत गरिएको छ। विज्ञहरूले फोक्सो क्यान्सरमा नयाँ बिरामी र मृत्युको संख्या नजिक हुनु रोग ढिलो पहिचान र उपचारमा सीमित पहुँचको गम्भीर संकेत हुन सक्ने बताएका छन्।
तम्बाकुजन्य क्यान्सरको भार न्यूनीकरणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको थियो। नेपाल जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री २०१९ का आधारमा पुरुषमा तम्बाकुजन्य क्यान्सरको अंश ३५.३ प्रतिशत र महिलामा १७.३ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको थियो।
औषधि नपाएर उपचार रोकिने अवस्था अन्त्य गरौँ
सम्मेलनको महत्वपूर्ण सत्रका रूपमा ‘औषधि अभावबाट क्यान्सर औषधि सुरक्षासम्म-राष्ट्रिय कार्यसूची’ विषयमा राष्ट्रिय संगोष्ठी आयोजना गरिएको थियो। संगोष्ठीमा सांसद, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, औषधि व्यवस्था विभाग, अस्पताल, औषधि उद्यमी, क्यान्सर रोग विशेषज्ञ तथा क्यान्सर विजेताबीच क्यान्सर औषधिको दर्ता, आयात, मूल्य, आपूर्ति र बिरामीको उपचार निरन्तरताबारे छलफल भएको थियो।
सहभागीहरूले नयाँ क्यान्सर औषधिको दर्ता प्रक्रिया सरल र छिटो बनाउनुपर्ने, अत्यावश्यक औषधिको अभाव हुन नदिन पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने तथा औषधिको मूल्य र खरिद प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएका थिए।
त्यस्तै, क्यान्सर बिरामीका लागि आवश्यक पीडा व्यवस्थापनका औषधि सहज रूपमा उपलब्ध गराउनुपर्ने मागसमेत उठाइएको थियो। सम्मेलनबाट प्राप्त सुझावलाई समेटेर ‘क्यान्सर औषधि सुरक्षासम्बन्धी एनसीसी घोषणापत्र’ तयार गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधि व्यवस्था विभागलाई हस्तान्तरण गर्ने आयोजकले जनाएको छ।
अनुसन्धान, प्रविधि र बिरामीको अनुभवको साझ मञ्च
सम्मेलनमा नेपालबाट प्रस्तुत मौलिक अनुसन्धानका मौखिक तथा पोस्टर प्रस्तुति गरिएको थियो। उत्कृष्ट अनुसन्धानलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने नर्सिङ अनुसन्धानका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको थियो।
क्यान्सरबाट निको भएका व्यक्तिहरूले आफ्ना अनुभव सुनाउने विशेष सत्र, नर्सिङ सत्र, बहुविषयक प्यानल तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विशेषज्ञका व्याख्यान सम्मेलनका प्रमुख आकर्षण बनेका थिए।सम्मेलनमा क्यान्सर उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई), आधुनिक निदान प्रविधि तथा नयाँ उपचार पद्धतिका विषयमा समेत छलफल भएको थियो।
‘नेपाली क्यान्सर बिरामीको उपचार नेपालमै’
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले ‘नेपाली क्यान्सर बिरामीको उपचार नेपालमै’ भन्ने अवधारणालाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अघि बढाउँदै आएको जनाएको छ। अस्पतालले स्तन क्लिनिक, साइको–अङ्कोलोजी, अङ्को–जेनेटिक्स, अङ्को–फर्टिलिटी तथा तम्बाकु निवारण क्लिनिक सञ्चालन गर्दै आएको जनाएको छ।
अस्पतालका संस्थापक अध्यक्ष तथा एनसीसी २०२६ का अध्यक्ष डा. सुदीप श्रेष्ठले क्यान्सर उपचारमा औषधिको सुनिश्चितता उपचार पूर्वाधार जत्तिकै महत्वपूर्ण रहेको बताए।
‘औषधि उपलब्ध नभएको, महँगो भएको वा प्रक्रिया जटिल भएका कारण कुनै पनि नेपाली क्यान्सर बिरामी उपचारबाट वञ्चित हुनुहुँदैन,’ उनले भने, ‘नेपाली क्यान्सर बिरामीको उपचार नेपालमै’ भन्ने संकल्प उपचार सुविधा विस्तारसँगै आवश्यक औषधिको सुनिश्चितता भएपछि मात्रै पूरा हुन्छ।’
दुई दिनसम्म चलेको सम्मेलनले क्यान्सरलाई केवल चिकित्सकीय समस्या नभई यो पनि कुनै विपत्तिजस्तै नदेखिने गरि नेपाली परिवार, समाज र राज्यको साझा चुनौतीका रूपमा लिएर रोकथाम, प्रारम्भिक पहिचान, उपचार, औषधि सुरक्षा र बिरामीको सामाजिक–मानसिक सहयोगलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने निष्कर्ष दिएको छ।
नेपाल क्यान्सर अस्पताल नेपाल क्यान्सर सम्मेलन

