Logo
१९ असोज २०८३, सोमबार

२९ बुँदे प्रस्तावसहित कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन

अक्षरपाटी
२०८३ असोज १९ , सोमबार ११:१० मा प्रकाशित

काठमाडाैँ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक प्रतिवेदन तयार पारेका छन्।

थापाको राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी चार वर्षको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्ताव गरेका छन्। प्रतिवेदनले विगतका कमजोरी स्वीकार गर्दै कांग्रेसलाई पुनर्संरचना गरी नागरिकसँग निरन्तर जोडिएको, पारदर्शी र परिणाममुखी पार्टी बनाउने लक्ष्य अघि सारेको छ।

प्रतिवेदनका मुख्य प्रस्तावहरूमा निर्वाचनपूर्व गठबन्धन नगर्ने, आफ्नै चुनाव चिह्न र उम्मेदवारबाट निर्वाचनमा जाने, उम्मेदवार छनोटमा प्राइमरी प्रणाली लागू गर्ने, सरकारमाथि प्रभावकारी निगरानीका लागि ‘छायाँ सरकार’ बनाउने, भ्रष्टाचारमा आफ्नै पक्षका व्यक्तिलाई समेत संरक्षण नगर्ने र पार्टीभित्र स्वतन्त्र ओम्बुड्सम्यान गठन गर्ने विषय छन्।

आर्थिक क्षेत्रमा उत्पादन, रोजगारी, निजी क्षेत्र, कृषि, उद्योग, पर्यटन, जलस्रोत, स्वच्छ ऊर्जा र प्रविधिलाई प्राथमिकता दिँदै विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति प्रस्ताव गरिएको छ। साथै शिक्षा, स्वास्थ्य, सीप र अवसरमा समान पहुँचमार्फत ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा अघि सारिएको छ।

युवा सहभागिता, कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तन, संघीयता, संक्रमणकालीन न्याय, राष्ट्रिय स्वाधीनता र सामाजिक सुरक्षालाई पनि प्रतिवेदनले प्राथमिकतामा राखेको छ। जेन्–जी पुस्ताको असन्तोष र माग अध्ययन गर्न युवा विज्ञ सम्मिलित विशेष कार्यदल गठन गर्ने प्रस्तावसमेत गरिएको छ।

समग्रमा, प्रतिवेदनको मूल अवधारणा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ रहेको छ। विगतका कमजोरी सच्याउँदै कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठनबाट निरन्तर नागरिकसँग जोडिने, नीति र परिणामका आधारमा नेतृत्वको मूल्यांकन हुने राजनीतिक संस्थामा रूपान्तरण गर्ने लक्ष्य प्रस्तुत गरिएको छ।

गगन थापा नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )