


काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्धारित समयभन्दा ढिला सुरु भएको मतदानको समय थप दुई घण्टा थपिएको छ। दिउँसो ३ बजेसम्मको समय तोकिएकामा मतदान गर्न एक जनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाई हुँदा साँझ ५ बजेसम्मको समय थपिएको हो।
केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ। बिहान ७ बजेपछि शुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ ओटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन्।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन

