


दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छन्। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मन्त्री मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन्।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा थप विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुरोगको उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
सेवा उद्घाटनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री मेहताले क्याथ ल्याब सञ्चालनले यस क्षेत्रको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्। उनले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो। प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा समग्र स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता मन्त्री मेहताले व्यक्त गरिन्।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले यस क्षेत्रको स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले स्वास्थ्य सेवा सुधार तथा प्रतिष्ठानको विकासमा जोड दिए।
त्यसैगरी, सांसद कमल सुवेदीले प्रतिष्ठानको समग्र विकासका लागि स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै प्रशासनिक सुधार पनि आवश्यक रहेको धारणा राखे। कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, प्रतिष्ठानका उपकुलपति डा. अजयकुमार मिश्र र रजिस्ट्रार श्याम लम्साललगायतको सहभागिता रहेको थियो।
क्याथल्याब सेवा दाङ मन्त्री निशा मेहता

