




काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिटमा भोलि पहिलो सुनुवाइ हुने भएको छ।
यसअघि आइतबारका लागि पेसी तोकिएको भए पनि छठ पर्वको सार्वजनिक बिदा परेका कारण सुनुवाइ हुन सकेको थिएन। सर्वोच्च अदालत प्रशासनले उक्त रिटको पेसी भोलिका लागि निर्धारण गरेको जनाएको छ।
कार्कीले आफूलाई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न माग गर्नुका साथै नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका छन्।
सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा स्थानान्तरण गरेको थियो।
यता, मन्त्रिपरिषद्ले निर्णय गरेकै दिन कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पदको नियुक्तिपत्र बुझिसकेको गृह मन्त्रालयको दाबी छ।
अब सर्वोच्च अदालतमा हुने पहिलो सुनुवाइले कार्कीको पुनर्बहालीसम्बन्धी माग र अन्तरिम आदेशको विषयमा थप कानुनी प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
दानबहादुर कार्की

