




काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ।
कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी उक्त जिम्मेवारीमा खटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको जिम्मेवारी परिवर्तन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै डा. केसीले आजै गृह मन्त्रालयमा फूली लगाएर नेपाल प्रहरीको महानिरीक्षकका रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
आईजीपी कार्कीको जिम्मेवारी परिवर्तनलाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारको मत फरक फरक आएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले भने आईजीपी कार्कीको जिम्मेवारी परिवर्तन पार्टीको निर्देशनअनुसार भएको बताएका थिए।
तर रास्वपाका प्रवक्ता जगदीश खरेलले भने सरकारले कसैलाई हटाउन वा नियुक्त गर्न पार्टीबाट कुनै निर्देशन नदिइएको बताएका छन्।
सरकारका प्रवक्ताको अभिव्यक्तिले प्रहरी नेतृत्व परिवर्तनमा राजनीतिक हस्तक्षेप भएको विषय थप चर्चामा आएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार र डा. केसी नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारीमा रहने भएका छन्।
दानबहादुर कार्की मनोज केसी।

