काठमाडौं । सातौं कारोबार दिनमा नेप्से परिसूचकमा उच्च अंकले वृद्धि देखिएको छ।
यसअघिका दुई दिन लगातारको गिरावटमा ११७.९५ अंकले घटेको नेप्सेले बुधबार ४९.१८ अंक जोडेको छ। अन्तरदिनको कारोबारमा घटेर २४४३ विन्दुसम्म पुगेको नेप्से बजार बन्द हुँदा २५१९.५७ विन्दुमा पुगेको हो।
बजारले २५ सयको विन्दुमा टेवा खोजिरहेको र निकै लामो समयदेखि बजार घटेकोले बढ्ने प्रयासमा देखिएको हो।
मंगलबारसम्म बजार १७ प्रतिशत घटेको थियो। ३००१ विन्दु पुगेको नेप्से बुधबार घटेर २४७० सम्म आएको थियो।
बुधबार बजार बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार पाँच अर्ब ६८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन चार अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको हो।
बजार बढ्दा सामूहिक लगानी कोष बाहेक सबै समूहगत परिसूचकमा सुधार भएको छ। वित्त र जलविद्युत समूहको परिसूचक तीन प्रतिशतभन्दा धेरैले बढेको छ।
यसदिन तीन सय २७ वटा स्क्रिप कारोबार भएकोमा दुई सय ५० वटाको मूल्य बढेको छ भने ६२ वटाको मूल्य घटेको छ।
पाँच वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ। विन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा हाइड्रो र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लागेको हो।
बजार बढ्दा न्यादी, अरुण भ्याली, सिइडिबी हाइड्रो र हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ता आकर्षित भएका छन्। यी कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ।