Logo
१९ पुस २०८१, शुक्रबार

दशैंलाई सुरक्षित बनाउन देशभर ६० हजार प्रहरी परिचालन

अक्षरपाटी
२०८१ असोज २२ , मंगलबार ०२:१० मा प्रकाशित

काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी जनशक्ति परिचालन गरेको छ ।

७९ हजार ५४१ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले करिब ४ हजार दरबन्दी रिक्त छ । जसमध्ये देशभर दशैं सुरक्षाका लागि भनेर ६० हजार प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए ।

‘अति आवश्यक काम बाहेकका प्रहरी कर्मचारीलाई यो पटक दशैंमा बिदा छाडिएको छैन । सकेसम्म सुरक्षित दशैं बनाउने योजना प्रहरी प्रधान कार्यालयको छ । सोही अनुसार जनशक्ति परिचालन गरेका छौं’, उनले भने ।

बाढी पहिरोबाट क्षति भएका जिल्लाहरुमा कार्यरत प्रहरी कर्मचारीलाई राहत, पुनर्स्थापनालगायतको काम बाँकी नै रहेकाले अहिले अति आवश्यक बाहेकहरुलाई बिदा छाडिएको छैन ।

६० हजार प्रहरीमध्ये केही प्रहरी भने सादा पोशाकमा सूचना संकलनका रुपमा खटिएका छन् । उनीहरुले अपराध हुने वा हुनसक्ने स्थानहरुमा खटिएर सूचना संकलनको कामदेखि अपराध भइहालेमा अनुसन्धानको काममा समेत खटिने छन् ।

देशभरका ७७ जिल्लामा परिचालन भएका ६० हजार प्रहरीले जनताको जिउधनको सुरक्षा गर्नुका साथै केही भइहालेमा जतिसक्दो चाँडो घटनास्थल पुग्ने व्यवस्था समेत मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले दशैंका बेला चोरी, डकैती, कुटपिट जुवातास, मदिरा सेवन गरी झैझगडा हुने जस्ता घटना हुने अनुमान गरेको छ ।

शहरी इलाकाहरुमा चोरी बढ्न सक्ने प्रहरीको आँकलन छ । दशैं मनाउन धेरै मानिस घर तथा कोठामा ढोका लगाएर गाउँ फर्कने हुनाले शहरमा चोरी बढ्न सक्ने प्रहरीको अनुमान छ ।

त्यसैगरी लुटपाट तथा कुटपिट, स्न्याचिङ, डकैतीजस्ता अपराधहरु पनि बढ्न सक्ने आँकलन प्रहरीको छ ।

सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, ड्रिंक एन्ड ड्राइभ, हिट एण्ड रन, चिट्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेशनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा हुन सक्ने भन्दै सोही अनुसार सुरक्षा रणनीति बनाइएको छ ।

त्यस्तै महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरुमा हुने चोरीलाई प्रहरीले सम्भावित अपराध मानेको छ ।

यस्ता प्रकृतिका अपराहरु नियन्त्रण गर्नका लागि देशभर ६० हजार प्रहरी परिचालन गरिएको छ ।