काठमाडौं। सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्।
जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर नेपाल प्रहरीले उनलाई काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट शुक्रबार साँझ पक्राउ गरेको हो। प्रहरीले पक्राउ गर्नुअघि सभापति लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए। उनले नेता, कार्याकर्ता र समर्थकलाई विचलित नहुन भनेका थिए।
कास्की प्रहरीको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई आजै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ।
सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० सहकारीका तत्कालीन अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो।
पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी दिएका थिए।
सहकारीको रकम ग्यालेक्सी टिभीमा लगेर अपचलन गरेको आरोपमा लामिछानेसहितलाई प्रतिवादी बनाएर अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
विभिन्न अनियमितता, भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई समेटेर सरकार गठन गरेको आरोप खेप्दै आएको वर्तमान सरकारलाई रास्वपाका सभापति लामिछानेले पक्राउ पर्नुअघि कडा आलोचना गरेका छन्।
विशेष गरी उनले सरकार प्रमुख केपी शर्मा ओलीको विभिन्न कार्यशैली र संलग्नताबारे कडा टिप्पणी गर्दै फेसबुकमा लामो स्टाटस लेखेका हुन्।
रास्वपाका सभापति लामिछानेले प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि प्रधानमन्त्री ओली नेतृत्व सरकारको आलोचना गर्दै केही अहम प्रश्न उठाएका छन्।
उनले ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भन्दै ओलीले लगाएको भनिएको स्रोत नखुलेको करोडौंके घडीमाथि सवाल उठाएका छन्। ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी?’ भन्दै उनले प्रश्न उठाएका छन्।
रविले प्रधानमन्त्री ओलीले प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिएको जिकिर गर्दै सोधेका छन्, ‘मैले ठगीको आरोप खेपिदिनुपर्ने ?’
त्यति मात्र होइन उनले भनेका छन्, ‘तपाईँ विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?’
उनल राज्यको भएभरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही नभेटेपछि एउटा नेताको राजनीति जोगाउन र दुई तिहाइको सरकार जोगाइदिन आफूलाई बली चडाइएको दाबी गरेका छन्।
उनले लेखेका छन्, ‘तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईँले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो। वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।’