काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (आइतबार) म्याद थपका लागि अदालत लगिएको छ ।
उनलाई आज बिहान कास्की जिल्ला अदालत पुर्याइएको हो ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै कास्की प्रहरीले अदालतमा उपस्थित गराएको स्रोतले जनाएको छ ।
काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ । बुधबार चितवनमा उनले त्यहाँको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान दिएका थिए ।
उनले यसअघि नै पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबारे बयान दिइसकेका छन् ।
अब म्याद थप भएपछि लामिछानेलाई पर्सा लगिने छ ।
रवि लामिछाने