


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताले नेपाली खेलकुदको शक्ति, सामर्थ्य र सम्भावनालाई उजागर गरेको बताएका छन्।
सोमबारदेखि सुरु भएको एनपीएलको तेस्रो संस्करणको सफलताको शुभकामना व्यक्त गर्दै लामिछानेले प्रतियोगितालाई नेपाली खेलकुदको राष्ट्रिय महोत्सवका रूपमा चित्रण गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले एनपीएलको सफलताले नेपालीहरू अवसर पाए विश्वस्तरीय उपलब्धि हासिल गर्न सक्षम रहेको सन्देश दिएको उल्लेख गरेका छन्।
‘नेपाली खेलकुदको राष्ट्रिय महोत्सव नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु भएको छ। यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो,’ लामिछानेले लेखेका छन्।
उनले एनपीएलको उपलब्धिले नेपालीहरूको आत्मविश्वास र सामूहिक क्षमतालाई थप बलियो बनाएको उल्लेख गर्दै भनेका छन्, ‘यो सफलताले एउटै कुरा भन्छ कि हामी सक्छौँ।’ लामिछानेले प्रतियोगिताको तेस्रो संस्करण भव्य सफलताको शुभकामनासमेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करण उद्घाटन गरेका हुन्। प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन्।



