Logo
२३ पुस २०८१, मंगलबार

आज राति अत्यधिक उल्का वर्षा हुने, सफा आकाशमा प्रष्ट देखिने

अक्षरपाटी
२०८१ पुस १९ , शुक्रबार ०१:०१ मा प्रकाशित

काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा देखिने भएको छ । नेपाल एस्ट्रानोमिकल सोसाइटी (नासो) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सन् २०२५ को पहिलो उल्का वर्षा हुने जानकारी दिएको हो ।

ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ । १३ देखि २८ पुससम्म सक्रिय रहने यस उल्का वर्षा आज राति आफ्नो उच्चतम् बिन्दुमा हुनेछ ।

प्रति घण्टा ५० देखि १२० ओटासम्म उल्का वर्षा देखिने अनुमान गरिएको छ । जुन पृथ्वीको वायुमण्डलमा करिब ७० किलोमिटर माथि आगोका झिल्काजस्तै देखिनेछन् ।

नासोका अनुसार आज राति उल्का वर्षा हेर्न कुनै विशेष उपकरण आवश्यक पर्दैन । प्रकाश प्रदूषण कम भएकाले नाङ्गो आँखाले अवलोकन गर्न सकिने नासोले जनाएको छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू वायुमण्डलमा तीव्र गतिमा ठोक्किंदा जल्ने प्रक्रियालाई उल्का वर्षा भनिन्छ । नेपाली जनजिब्रोमा यसलाई ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ भनेर चिनिन्छ ।

उल्का वर्षा