


गोरखा। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच आज बिहान गएको पहिरोपछि बुढीगण्डकी नदीमा लेदोसहितको आकस्मिक बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ। बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन बनेको स्थानीय प्रशासन र स्थानीयवासीले बताएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुमनुव्री–६ चुन्चेतको उङ्गिलुङ भेडीगोठमा बस्ने पाँच जना बाढीपछि सम्पर्कविहीन छन्। यस्तै, सोही क्षेत्रको धाउलेमा बस्ने तीन घरका पाँच जना पनि सम्पर्कमा नरहेको स्थानीयले बताएका छन्। उनीहरूको अवस्था यकिन हुन सकेको छैन। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
बाढीका कारण चुमनुव्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा भौतिक संरचनामा ठूलो क्षति भएको छ। हालसम्म दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बाढीले बगाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। पुल बगेसँगै उत्तरी गोरखाका विभिन्न गाउँसँगको सडक तथा पैदल आवागमनसमेत प्रभावित भएको छ।
जगत गाउँको सम्पर्क टुट्यो
बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण चुमनुव्री गाउँपालिका–३ सिर्दिवासस्थित जगत गाउँको सम्पर्क टुटेको छ। बाढीले आवतजावत गर्ने बाटो तथा पुलमा क्षति पुर्याएपछि जगतबाट तलतर्फ जान र माथितर्फ आउन सक्ने अवस्था नरहेको बताइएको छ। गाउँका स्थानीय दुवैतर्फबाट थुनिएका छन्।
हाइड्रोपावरमा ठूलो क्षति
बाढीले चुमनुव्री–३ सल्लेरीस्थित सहज ऊर्जा प्रालिको पावर हाउस र लेबर क्याम्पसमेत बगाएको छ। यस्तै, धार्चे गाउँपालिका–१ यारु र दोभानमा रहेका दुई वटा हाइड्रोपावर आयोजनामा समेत क्षति पुगेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
सल्लेरीको हाइड्रोपावरमा क्षति पुगेपछि न्याक, फिलिम, चिसापानी, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिवास, उहियालगायतका गाउँबस्ती विद्युत विहीन भएका छन्।
बाढीले टेलिफोन टावर, विद्युतका पोल, निर्माणाधीन बुढीगण्डकी हाइड्रोको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरहरूमा समेत क्षति पुर्याएको छ।
४८ जनाको उद्धार, ४३७ सुरक्षाकर्मी परिचालन
प्रभावित सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी हाइड्रोबाट १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बलका १७७ जना गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोनसहित प्रभावित क्षेत्रमा पठाइएको छ। नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई तत्काल परिचालन गर्न तयारी अवस्थामा राखिएको छ।
दुई लाख नागरिकलाई पूर्वसूचना
बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएस पठाएको थियो।
त्यसैगरी जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले गोरखा, धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुई चरणमा करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना पठाएको जनाएको छ। बाढीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सारिएको थियो।
बेलीब्रिज जडानको तयारी
बाढीका कारण अवरुद्ध सडक तथा आवागमन पुनः सञ्चालनका लागि सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली प्रभावित क्षेत्रमा खटिएको छ। टोलीले सडक सञ्चालन तथा आवश्यक स्थानमा बेलिब्रिज जडानको सम्भाव्यता अध्ययन गरिरहेको छ।
आरुघाटमा बेलिब्रिज जडानका लागि तयारीसमेत थालिएको छ। प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री स्थल तथा हवाई मार्गबाट ढुवानी भइरहेको छ। गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय तहका आपत्कालीन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसमेत परिचालनका लागि तयारी अवस्थामा छ। प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकहरूको उद्धारका लागि सम्बन्धित मन्त्रालय तथा उद्धार कम्पनीहरूलाई आवश्यक निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
कमाण्ड पोष्टबाट निरन्तर अनुगमन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर सञ्चालन भइरहेको सरकारले जनाएको छ। बैठकले बाढीको अवस्था निरन्तर अनुगमन, जोखिम विश्लेषण, आवश्यक सूचना सम्प्रेषण तथा उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायबीच समन्वय गरिरहेको छ।
सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तथा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन आवश्यक कदम अघि बढाइसकेको जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन अनिवार्य रूपमा पालना गर्न आग्रह गरेका छन्।
सरकारले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई तीव्रता दिँदै क्षतिको थप विवरण संकलन र तत्काल राहत तथा पुनःस्थापनाको काम अघि बढाइरहेको जनाएको छ।
बुढीगण्डकीमा भीषण बाढी

