Logo
५ जेठ २०८२, आईतबार

रविको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि ‘हेर्न नमिल्ने’ इजलासमा

अक्षरपाटी
२०८२ जेठ ५ , आईतबार ११:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको निवेदन आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ ।

सँगै लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराइसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिटमाथि पनि पेसी तोकिएको छ । यी तीन रिट लगाउमा राखिएको छ । लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि पहिलेकै न्यायाधीशसहितको इजलासमा परेको हो । आज आइतबार पनि उनको निवेदन न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमै पारिएको हो । तर उनको निवेदन न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिरहेका छैनन् ।

यद्यपि आज पनि उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा जाने पक्का भएको छ । इजलास तोकिएका न्यायाधीश पोखरेल अधिवक्ता हुँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा बहस गरेकाले यसअघि पनि उक्त रिट हेर्न नमिल्नेमा गएको थियो । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।

वैशाख ८ गते उक्त रिट हेर्न नमिल्ने भएकोमा वैशाख ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । त्यसयता यसअघि तीनपटक पेसी तोकिएकोमा तीनै पटक हेर्न नमिल्ने भएको थियो ।

रवि लामिछाने