काठमाडौं। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अर्ली महाधिवेशन माग गरेकी छन् ।
पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेकाले नयाँ नेतृत्व चुन्न अर्ली महाधिवेशन गर्नुपर्ने उनको धारणा छ ।
पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै झाँक्रीले पार्टी पुनर्गठन गर्नुपर्ने बताइन् ।
‘अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?’ आफ्नै प्रश्नमा झाँक्रीले आफैं उत्तर दिइन्, ‘अब के गर्ने भने पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? आइदर अर्ली महाधिवेशन गरौं अर मनोनीत गरेर पुनर्गठन गरेर अध्यक्ष बनाऔं ।’
यसै सन्दर्भमा उनले अब काँधमाथि ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने टिप्पणीसमेत गरिन् ।
‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कयौं पार्टीका सदस्यमाथि पनि समस्या आकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनिन्, ‘हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नु परेन ? गरौं न त अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं ।’
अहिलेकै केन्द्रीय समितिबाट पार्टी नबन्ने र छिटो बिघटन हुने चेतावनी पनि उनले दिइन् ।
उनले भनिन्, ‘अँस्ती मतदाता नामावली सारेर ल्याएका मान्छेहरुबाट टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरु पार्टी बनाउनु हुन्न र यो धेरै छिटो बिघटन हुन्छ ।’
नेकपा एकीकृत समाजवादी रामकुमारी झाँक्री